नुवाकोट, १९ मङ्सिर । तारुका-४ स्थित आरुबोटेमा स्वीट्जरल्याण्डका नागरिकले आधुनिक विद्यालय निर्माण गरेका छन् ।
स्वीस नागरिकको १३ जना समूहले आफ्नै लगानी र श्रमदानबाट तारुका–४ आरुबोटेमा सुविधासम्पन्न बिपी स्मृति प्राथमिक विद्यालय निर्माण गरेका हुन् ।
कुल रु ८० लाखको लागतमा स्वीस प्रविधिबाट निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक पाँचकोठे विद्यालय र तीनकोठे कार्यालयको पक्की भवनमा आधुनिक फर्निचरलगायतका सबै सेवा सुविधा छन् ।
वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त उक्त विद्यालय निर्माण गर्न वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साल र नुवाकोट–रसुवा पर्यटन विकास समितिका महासचिव शिव अधिकारीले सक्रियता देखाउनुभएको थियो ।
स्वीस नागरिक बर्नहाड बुल्हरले पर्यटन व्यवसायी लम्सालको आग्रहबमोजिम १३ जनाको समूह बनाई यहाँ आएर विद्यालय निर्माण गर्नुभएको हो । यो समूहले तारुकाको वडा नं ५ र ७ मा थप एक÷एक विद्यालय निर्माण गर्ने र तारुका–४ मा छ कोठे अस्पताल र खानेपानी आयोजना बनाउने जनाएको छ ।
विसं २०५१ स्थापना भएको उक्त विद्यालय पुनःनिर्माण भएसँगै स्थानीयले गुणस्तरीय र सुलभ शिक्षा पाउने स्थानीयको विश्वास छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बराल मगरले सुविधायुक्त विद्यालय निर्माण भएपछि बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयको उद्घाटन गर्दै व्यवसायी लम्सालले विद्यालय जस्तो पवित्र क्षेत्रमा समाजसेवा गर्न पाउँदा खुसी लागेको भन्दै अन्य गाउँमा पनि विद्यालय निर्माण गरी शिक्षाको ज्योति फैलाउन लागिपर्ने बताउनुभयो । रासस















प्रतिक्रिया