– अनिल खत्री
गुल्मी, १७ मंसिर । भारतीय नाकाबन्दीले ईन्धन लगायतको अभाव भएपछि बल्ल अहिले गुल्मीको सदरमुकाम तम्घासमा घरेलु उत्पादनले बजार पाउन थालेको छ । ग्याँस नपाएर खाना पकाउनका लागी बिकल्पको रुपमा दाउराबाट खाना पकाउन चुलोहरु किन्नेहरु बजारमा बढेका छन् ।
तम्घास बजारका धेरै घर परिवारले घर नजिकैको खाली ठाउँमा वा छतमा दाउराको चुलो बनाएर खाना पकाउन थालेका छन् । कतिपय परिवार भन्छन् –‘विसौं वर्ष पछि दाउराले पकाएको खानाको वेग्लै स्वाद चाख्न पाईयो ।’ जाडोमा आगो ताप्न पनि पाईने, खान पनि पाक्ने किन चाहियो ग्याँस ? के हाम्रा पुर्खाले ग्याँस वालेकाथिएर ? भनेर प्रतिप्रश्न समेत गर्न थालिएको छ ।
पक्की घरको डेरामा वस्नेहरुले भुसे चुलो र कराई चुलोमा खाना पकाउन सुरु गरेका छन् । तम्घासका होटलबालाहरुले समेत त्यही चुलो प्रयोग गर्न थालेको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष बुद्ध थापाले बताए । उनले भने –‘अघिल्लो हप्ता देखि नै दर्जनौ होटलका साथीहरुले ग्याँस नभएर होटल बन्दगर्ने तयारीमा छौं भनेर गुनासो गर्दै हुनुहुन्थ्यो । मैले ग्याँसको मात्रै भर नपरौं गाउँघरे चुलो पनि प्रयोग गरौं भने पछि त्यसै गरिएको छ ।’
अहिले बजारमा भुसे चुलो र कराई चुलोको बिक्रि बढ्दै गएको छ । थोरै दाउराले पनि खान पाक्ने उक्त चुलो तम्घासका अधिकांश सम्पन्न परिवारले समेत प्रयोग गर्न थालेपछि ग्याँस बाल्ने सदरमुकाम बाहिरका होटल व्यवसायीहरुले पनि प्रयोगमा ल्याउन थालेका छन् ।
















प्रतिक्रिया