काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी संसदको नियमावली मस्यौदा समितिको सभापति चयन हुनुभएको छ ।
समितिको आज सिंहदरबारस्थित संसद सचिवालयमा बसेको बैठकमा कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठद्वारा सभापतिका लागि अधिकारीको नाम प्रस्ताव गर्नुभएको थियो । अधिकारीको नामलाई बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
समिति गठन भएको डेढ महिनापछि कांग्रेस सांसद अधिकारीलाई सर्वसम्मत सभापति चयन गरिएको छ ।
सभापति चयनसँगै नियमावलीको मस्यौदा तयार पार्न एमाओवादीका सांसद रामनारायण बिडारीको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको छ ।
संसदले आफ्नो नियमावली बनाउन असोज २५ गते ६१ सदस्यीय समिति गठन गरेको थियो । समितिको सभापतिमा कांग्रेस र एकीकृत माओवादीले दाबी गर्दै आएका थिए ।
अधिकारीको नाम चयन गर्नका लागि कांग्रेस, एमाओवादी र एमालेका सांसद र प्रमुख सचेतकबीच केही बेर गोप्य छलफल पनि भएको थियो ।
आजको बैठकमा एमाओवादीले दाबी छोडेपछि कांग्रेस सांसद अधिकारी सर्वसम्मतरुपमा सभापति चयन हुनुभएको हो । एमाओवादीले सभापतिका लागि आफ्ना सांसद बिडारीको नाम अघि ल्याएको थियो ।













प्रतिक्रिया