काठमाडौं, १५ मंसिर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले भारतसँग अघोषित नाकाबन्दी खुलाउने विषयमा गम्भीतापूर्वक प्रयास नगरेको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा आज (मंगलबार) बसेको पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरूको बैठकले भारतसँग कुटनीतिक प्रयास गरी नाकाबन्दी खुलाउन वर्तमान सरकार असफल भएको ठहर गरेको हो । सरकारले मधेसी मोर्चासँग पनि गम्भीर भएर वार्ता नगरेको आरोप लगाएको छ ।
बैठकपछि पत्रकारसँग कुरागर्दै कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कुाटनीतिक माध्यमबाट मुलुकलाई निकास दिन भारतसँग पहल नगरेको आरोप लगाउनुभयो ।
‘सरकारले नाकाबन्दी खोल्न र आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको पाएनौँ’, उहाँले भन्नुभयो, ‘छिटोभन्दा छिटो कुटनीतिक पहलमार्फत सरकारले भारतसँग सम्वाद गरी जनतालाई इन्धन, औषधिलगायतका सामाग्री सहज रुपमा उपलब्ध गराउनुपर्छ ।’
कांग्रेसले मधेसी मोर्चा र सत्तारुढ दलहरूसँग भोलि बुधबार हुने भनिएको संयुक्त बैठकमा सीमाङ्कनका विषयमा पुरानै अडानलाई अगाडि सार्ने भएको छ । उसले सीमाङ्कनको विषय प्राविधिक कुरा रहेको भन्दै संवैधानिक आयोग वा राजनीतिक सहमतिका आधारमा अगाडि बढ्नुपर्ने प्रस्तावलाई नै अडानका साथ राख्नेछ ।
केन्द्रीय सदस्य आचार्यले सीमाङ्कन प्राविधिक विषय भएकालेले त्यसलाई हतारमा कुनै ठोस निर्णय गर्न नहुने बताउनुभयो ।
बैठकले सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, आपूर्ति व्यवस्था मिलाउन नसकेको, भ्रष्टाचारलाई बढावा दिएको भन्दै सरकारको आलोचना गरेको छ ।












प्रतिक्रिया