२२ कार्तिक २०८३, आइतबार

मधेसी मोर्चाका शीर्ष नेताहरुलाई किन बोलाइयो बालुवाटार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi-Morcha-Meeting-Jiकाठमाडौं, १३ मंसिर । मधेसी मोर्चाको आन्दोलन र मागका विषयमा वार्ता गर्न प्रधानमन्त्री केपी ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई बालुवाटार बोलाउनु भएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयबाट वार्ताका लागि निम्तो दिन आज (आइतबार) फोन गरेको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्री कार्यालयबाट भोलि सोमबार एघार बजे वार्ताका लागि भनेर मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलाइएको छ’, उहाँले भन्नुभयो, ‘सायद मधेसी मोर्चासँगको वार्ता र मागका विषयमा छलफल गर्न बोलाइएको हुन सक्छ ।’

प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई भोलि सोमबार एघार बजे बालुवाटार आउन निम्तो पठाउनु भएको हो ।

वार्तामा कुन कुन दल सहभागी हुने हुन् त्यस विषयमा स्पष्ट केही बताइएको छैन । स्रोतका अनुसार प्रधानमन्त्रीका साथै एमाले, एमाओवादी, नेपाली कांग्रेस र मधेसी मोर्चाबीच वार्ता हुनेछ ।

सोहीअनुसार तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।

वार्ताका लागि सरकारी पक्षको निम्तो आए पनि मधेसी मोर्चाले सोमबारको वार्तामा जाने की नजाने भनेर कुनै निर्णय गरिसकेको छैन ।

यस विषयमा विराटनगरमा रहेका मधेसी मोर्चाका शीर्ष नेताहरुले बैठक गरेर प्रधानमन्त्री ओलीलाई खबर पठाउने सन्देश दिइएका छन् ।

आमसभाका लागि मधेसी मोर्चाका तीन शीर्ष नेताहरु विराटनगर पुगेका छन् । विराटनगरमा रहने नेताहरुमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव हुनुहुन्छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर भने बिरामी भएकाले भक्तपुरस्थित निवासमा बस्दै आउनु भएको छ ।