
मुगु, १३ मंसिर । मुगुमा चार दिनअघि हराएका चार बालबालिकाको शव फेला परेको छ ।
उनीहरुको शव खाल्डोभित्र पुरिएको अवस्थामा फेला परेको हो । उनीहरुलाई आफ्नै आमाबुवाले हत्या गरेको खुलासा भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै २ छोरी र २ छोराको हत्या गरेको अभियोगमा हाग्लु–६ बस्ने नन्द बहादुर रोकाया, उनको श्रीमती बाचु रोकाया र आमा असारी रोकायलाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर ९ गतेबाट रोकायका छोरीहरु ९ बर्षीया सुन्तली रोकाय, ४ बर्षीया बिपना रोकाय, छोराहरु ६ बर्षीय युवराज रोकाय र २ बर्षीय दिप बहादुर रोकाय हराएको खबर इलाका प्रहरी कार्यालय रातापानीमा प्राप्त हुनासाथ आइतबार खटिएको प्रहरी टोलीले रोकायको घरदेखि १ सय मिटर टाढा बारीमा खाल्डो खनी ४ वटै लास गाडी माथिबाट ढुंगाको पर्खाल लगाई राखिएको अवस्थामा फेला पारेको थियो ।
घटनाबारे प्राप्त पछिल्लो जानकारी अनुसार वंश बिनास गर्ने भन्दै रोकाया परिवारले चारै छोरीछोरीको हत्या गरेको खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रमुख लोकबहादुर जिसीका अनुसार नन्दबहादुरले ‘मेरो वंश बिनास गर्छु’ भन्दै छोरा–छोरीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । घटनाको प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया