काठमाडौं, १३ मंसिर । पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादी र मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बीच पार्टी एकता हुने भएको छ ।
पार्टी एकीकरणका लागि दुई माओवादीबीच वार्ता र सम्वाद भइरहेको नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष बैद्यले बताउनु भएको छ ।
‘वार्ता र सम्वाद चलिरहेको छ’, आज (आइतबार) बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘अहिले नै पार्टी एकीकरण हुने अवस्था छैन । कुरा चलिरहेको छ ।’
अध्यक्ष बैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक कार्यदिशा र संविधानका विषयमा गरेको निर्णयप्रति पुनःविचार गरेर दुई पार्टीबीच एकीकरण हुने बताउनुभयो । उहाँले कुरा मिले दुई माओवादीबीच छिट्ट एकीकरण हुने उल्लेख गर्नुभयो ।
उता, एमाओवादी अध्यक्ष दाहालले पनि बैद्य नेतृत्वको माओवादीसँग एकता गरेर माओवादी आन्दोलनलाई बचाउने रणनीतिमा हुनुहुन्छ ।
अध्यक्ष दाहालले आफ्नो पार्टीको मंसिर १५ गते चल्ने केन्द्रीय समिति बैठकमा पनि पार्टी एकीकरणसम्बन्धी प्रस्ताव पनि पेश गर्ने स्रोतको भनाइ छ ।
बाबुराम भट्टराईले एमाओवादी छाडेर गएपछि अध्यक्ष दाहालले बैद्यसँग एकता गरेर जाने तयारी गर्नुभएको हो ।
भट्टराईको नयाँ शक्ति निर्माण अभियानले तीब्रता लिइरहेको छ । सो अभियानलाई रोक्नका लागि पनि दाहाल र बैद्यले पार्टी एकताको वार्तालाई अगाडि बढाएका आरोप छ ।














प्रतिक्रिया