काठमाडौं, १३ मंसिर । काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा भगौडा प्रहरीका जवानलाई पक्राउ गर्ने क्रममा गोली चलेको छ ।
आज (आइतबार) बिहान सुन्धाराको लुम्बिनी पाहुना घरमा हतियारसहित बसेका बारा बरियारपुरका छोटेलाल ठाकुरलाई पक्राउ गर्न खोज्दा फायर गरेपछि गोली चलाएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
ठाकुर रौतहट जिल्लामा नेपाल प्रहरी सेवारत रहँदा एसएलआर लिएर भागेका थिए । उनको खोजी भइरहेको थियो ।
लुम्बिनी पाहुना घरको २०२ नम्बर कोठामा बसेका ठाकुरलाई पक्राउ गर्न प्रहरीले ढोका खोल्न लाग्दा प्रहरीमाथि फायर गरेका थिए ।
त्यसपछि उनको घुँडामा प्रहरीले गोली हानेको जनाएको छ ।
भगौडा प्रहरी ठाकुरको घुँडामा २ गोली लागेको छ । उनलाई वीर अस्पतालमा उपचारका लागि लगिएको छ । प्रहरी सेवाबाट भागेका ठाकुरले नेपाल र भारत दुबैतर्फ आतंक मच्चाउँदै आएका थिए ।
ठाकुरको साथबाट प्रहरीले चाइनिज पेस्तोल र कटुवा पेस्तोलका साथै ७ राउण्ड गोली बरामद गरेको नायव उपरीक्षक किरणजंग थापाले जानकारी दिनुभयो ।
२०६७ सालमा हतियार लिएर फरार भएका ठाकुरले १ वर्षजति घरमै लुकाएर राखेको र पछि भारतीय नागरिक सुनिल जैसवाललाई बेचेका थिए । जैसवाल भने यसअघि बारामा पक्राउ परिसकेका छन् ।












प्रतिक्रिया