– सुमन घिमिरे
मोरङ, १२ मंसिर । नाकाबन्दीले राजधानीमा ग्यासको हाहाकार भइरहेका बेला शुक्रबार राति भारतबाट ठूलो परिमाणमा एलपी ग्यास नेपाल भित्रिएको छ ।
शुक्रबार राति जोगबनी नाका हुँदै २३ वटा ग्यास बुलेट जोगबनी नाकाबाट नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार प्रमुख कृष्ण बस्नेतले भारतको अघोषित नाकाबन्दीपछि जोगबनी नाकाबाट शुक्रबार राति अहिलेसम्मकै ठूलो परिमाणमा ग्यास भित्रिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि १७/१८ वटासम्म ग्यास बुलेट यहाँबाट भित्रिएका थिए ।
जोगबनी भन्सार कार्यालयका अनुसार यसैगरी, शुक्रबारै १४ वटा पेट्रोल र ३३ वटा डिलेजका ट्याङ्कर पनि भित्रिएका छन् । पछिल्लो समय ग्यास तेल आपूर्ति जोगबनी नाकाबाट धेरै सहज हुन थालेको छ ।
भारतबाट आएको ग्यासलाई क्षेत्रीय आयल निगमबाट राजधानी पठाइने भन्सार प्रमुख बस्नेतले बताउनुभयो । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार ग्यास राजधानी आइपुगेपछि राजधानीबासीलाई आधा सिलिण्डर वितरण गरिनेछ ।
















प्रतिक्रिया