काठमाडौं, ११ मंसिर । लोकतन्त्रको विकासका लागि सञ्चारमाध्यमको भूमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
एफइएस नेपाल तथा प्रेस चौतारी नेपालको संयुक्त तत्वावधानमा शुक्रबार राजधानीमा आयोजित उक्त कार्यशालामा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले कार्यपत्र पेश गर्नुभयो भने उक्त कार्यपत्रमाथि राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले टिप्पणी गर्नुभयो । कार्यक्रमको सभापतित्व प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले तथा कार्यक्रम सञ्चालन महासचिव माधव नेपालले गर्नुभयो ।
कार्यपत्र पेश गर्नुहुँदै पत्रकार महासंघका अध्यक्ष विष्टले नेपालको परिप्रेक्ष्यमा नयाँ संविधानको घोषणापछि उत्पन्न परिस्थिति र त्यो परिस्थितिसँग जोडेर सञ्चारमाध्यमको भूमिकाबारे चर्चा गर्नुभयो । उहाँको कार्यपत्रमा उल्लेख थियो, ‘नेपालमा अझै पनि लोकतन्त्र नागरिकको जीवन पद्दतिमा रूपान्तरित हुन सकेको छैन । स्थानीय सरकारले स्थानीय लोकतन्त्रलाई सुदृढ गर्ने हो, तर दुइ दशकसम्म स्थानीय निकायको निर्वाचनसम्म नगरिएको अवस्था छ । यस्तो अवस्थामा लोकतन्त्र निर्माणमा प्रेसले खेल्ने भूमिका सामान्य अवस्था भन्दा भिन्न, विशिष्टिकृत र व्यावहारिक हुन जरूरी छ ।’
कार्यपत्रमाथि टिप्पणी गर्दै सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हकबारे अझै पनि सचेत भनिएका नागरिकहरु पनि जानकार नहुनु दुःखदायी विषय भएको बताउनुभयो । कतिपय दैनिक जीवनसँग सम्बन्धित त कतिपय समाजिक र राष्ट्रिय जीवनसँग सम्बन्धित विषयमा सूचनाको हक कति छ, के छ र कस्तो छ भन्नेबारे पनि जनतामा यथेष्ठ चेतना नहुँदा लोकतान्त्रिक अभ्यास नै पूर्ण नभएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा अतिथिको आसनबाट बोल्दै क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्रको सुन्दर पक्ष प्रेस र त्यसको स्वतन्त्रता भएको उल्लेख गर्दै स्वतन्त्र प्रेस र सुदृढ लोकतन्त्रको पक्षमा आफ्नो संगठन सदा दृढ रहेको बताउनुभयो ।
अतिथिको आसनबाट बोल्दै नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष ईश्वरी ओझाले स्वतन्त्र प्रेस सदृढ प्रजातन्त्रको प्रतीक भएको उल्लेख गर्दै जनताको प्रजातान्त्रिक हक, अधिकारको रक्षाका निम्ति प्रेसको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभयो ।
एफईएस नेपालका तर्फबाट मारिया बुसले जर्मनी लोकतन्त्रको अभ्यासमा प्रेसको भूमिका, दायित्व र व्यवस्था सम्बन्धमा आफ्नो धारणा राख्नुभयो । उहाँले नेपाली प्रेसले नेपालको लोकतान्त्रिक व्यवस्थाको विकास, उत्थान तथा सम्बद्र्धनमा अहम् भूमिका निभाउने विश्वास व्यक्त गर्नुभयो ।












प्रतिक्रिया