काठमाडौं, २० असार । द्वन्द्वग्रस्त इराकका केही सहरमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने भएको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले इराकमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा.मीनेन्द्र रिजालले भने, ‘उद्धार कार्यका लागि परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनप्रसाद मैनालीको नेतृत्वमा एक टोली इराक पठाइसकिएको छ ।’
सरकारले पत्रपत्रिकाको बेरुजु रकम मिनाह गर्ने निर्णय गरेको छ । पत्रपत्रिकालाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा विगत चार÷पाँच वर्षदेखि करकट्टा नगरी वितरण गरिँदै आएको भन्दै सरकारले आर्थिक वर्षको अन्त्यमा कर कट्टा गर्न सम्भव नभएकाले त्यसमा देखिने बेरुजु मिनाहा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले दिगो सहरी विकासका लागि संयुक्त राष्ट्र मानव बस्ती कार्यक्रमबाट ९४ करोडको अनुदान लिने र खानेपानीका लागि विश्व बैंकबाट छ अर्ब सहायता लिने निर्णय गरेको प्रवक्ता रिजालले बताए ।
त्यसैगरी सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट अढाई अर्ब लिन वार्ता टोली गठन गर्ने निर्णय गर्नुका साथै नियमित सामान्य प्रकृतिका विदेश भ्रमण, सरुवा बढुवासम्बन्धी निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि संयुक्त राज्य अमेरिका जानुभएकाले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका उपप्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।















प्रतिक्रिया