३१ आश्विन २०८३, शनिबार

संघीयताका विषयमा आफै निर्णय गर्नुपर्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijay-Jollyकाठमाडौं, २० असार । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले सङ्घीय ढाँचामा एकीकृत र प्रान्तका जनताकाबीचमा भाइचारा कायम भएको अखण्ड नेपालको पक्षमा आफूहरु रहेको बताएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘आफू सङ्घीयताको पक्षधर भए पनि नेपालको आन्तरिक मामिला भएकाले यहाँका जनता, राजनीतिक दल र सरकारको आपसी छलफल र वार्ताबाट यस विषयमा निर्णय लिनुपर्दछ ।’

उनले राष्ट्रपति डा.रामवरण यादव र नेकपा (एमाले)का नेताहरुसँग वर्तमान राजनीतिक घटनाक्रमका बारेमा विस्तृत रुपमा छलफल गरी जानकारी लिएको बताए ।

नेपालको स्वास्थ्य, उच्चशिक्षा र ऊर्जा सङ्कटका लागि साझा न्यूनतम कार्यक्रम बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै विदेश विभाग प्रमुख जोलीले भने, ‘नेपाल सशक्त भयो भनेमात्र भारत समृद्ध बन्न सक्छ, नेपाल र भारतबीच रोजिरोटीको सम्बन्ध छ, हाम्रा दुई देशबीचको जस्तो भाइचारा र मित्रवत सम्बन्ध दुनियाँको अरु देशमा कहीँ पाइन्न ।’

भारतीय प्रधानमन्त्री मोदीको निकट भविष्यमै हुने नेपाल भ्रमणपछि नेपालका छात्रछात्रालाई उच्च शिक्षाअन्तर्गत चिकित्सा शास्त्र, इन्जिनियरिङलगायतका विषयमा बर्सेनि हाल प्रदान गरिँदै आएको तीन हजारको छात्रवृत्ति कोटालाई बढाएर पाँच हजार पु-याइने तयारी भइरहेको जानकारी दिँदै उनले सबै राजनीतिक दलहरु भाइचाराबाट चलेर नेपालमा शान्ति र स्थायित्व कायम भए विदेशी लगानी बढ्न गई व्यापार, उद्योगधन्दा फस्टाउने धारणा व्यक्त गरे ।

प्रमुख जोलीले भने, ‘लोकतन्त्रलाई सफल र सार्थक तुल्याउनेतर्फ सबै राजनीतिक दलले काम गर्नुपर्छ, राष्ट्रपति डा यादव र नेताहरुसँगको कुराकानीबाट नेपालमा लोकतन्त्र सशक्त हुँदै गएको पाएको छु ।’

‘नेपाल र भारतको सीमा क्षेत्र नजिक उद्योगधन्दा, कलकारखानाको विस्तार गर्न सकिएमा औद्योगिक क्षेत्रको विकासका साथै रोजगारीमा वृद्धि भई दुई देशबीचको सम्बन्ध अझ विस्तार हुँदै जाने छ’, उनले भने ।

दक्षिण एसियाली मुलुकका जनताको जनजीवनसँग जोडिएका सरोकारका विषयलाई सार्क राष्ट्रले साझा मुद्दाका रुपमा अघि बढाउनुपर्नेमा जोड दिँदै प्रमुख जोलीले सार्क मुलुकबीच सौहार्दता बढाउने कामको थालनी प्रधानमन्त्री मोदीले आफ्नो सपथ समारोहबाटै आरम्भ गरेको प्रसङ्ग उल्लेख गरे ।