२२ कार्तिक २०८३, आइतबार

संसद बैठक अबरुद्ध गराउन कांग्रेसलाई अकस्मात कसले उचाल्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Congress-BICC-Samsad– विमल योगी

काठमाडौं, १० मंसिर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको असावधानी र पार्टी निर्णय विपरित उसका सांसदहरूले व्यवस्थापिका संसदको बैठक अबरुद्ध बनाएका छन् । संसद बैठक सुरू हुनेवित्तिकै जर्‍याकजुरुक आआफ्नो कुर्सीबाट उभिएका कांग्रेस सांसदहरू बस्न नमानेपछि आज (बिहीबार)को संसद बैठक स्थगित हुन पुगेको हो ।

संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकमा सभामुख ओनसरी घर्तीसहित कांग्रेस, एमाले, एमाओवादी, मधेसी दल र अन्य दलका प्रमुख सचेतकहरूको सहभागिता थियो ।

सो बैठकले संसदमा मधेसी मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् सांसद उपेन्द्र यादवलाई बोल्न दिने निर्णय गरेको थियो । उपेन्द्र यादव बोलेर सकेपछि मधेसी मोर्चाले नारावाजी गरेर सदन अबरोध गर्ने सहमति भएको संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले बताउनुभयो ।

तर, संसदको बैठक चल्ने वित्तिकै अर्कै दृश्य बैठकमा देखियो । उपेन्द्र यादवलाई पहिला बोल्न दिने निर्णय गरेको कांग्रेसले पूर्व जानकारीविनै आफ्ना सांसदहरूलाई कुर्सीबाट उभ्यायो । र कांग्रेसका सांसदहरू कुर्सीमा बस्न नमानेपछि संसदको बैठक सभामुख घर्तीले मंसिर १५ गते ११ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।

कांग्रेसका सांसदले आज पहिलो पटक आफ्ना मुख्य सचेतक चिनकाजी श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिमा गर्नुभएको निर्णयलाई उल्ट्याइदिएका छन् । कांग्रेस सांसदहरूको यो निर्णयले मुख्य सचेतक श्रेष्ठको नेतृत्व क्षमतामा गम्भीर प्रश्न उब्जिएको छ ।

संसद बैठक चल्नेवित्तिक कांग्रेसका सांसदले के गर्ने भनेर अन्यौलता देखाएका थिए । उनीहरूमध्ये केही उभिएका थिए भने केही सांसद कर्सीमै बसेको दृश्य देखिन्थ्यो । कांग्रेसका सांसद मीनेन्द्र रिजालसहितका केहीले आफ्ना पार्टीका सांसदहरूलाई धमाधम उठेर विरोध गरी सदन अबरुद्ध गर्नुपर्छ भन्दै हिँडेको प्रष्टै देखिन्थ्यो ।

आजको संसद बैठक अबरोध गर्ने कांग्रेसको कुनै पूर्व योजना थिएन । सोही कारण कार्यवाहक सभापतिसमेत रहनुभएका सांसद रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा संसद बैठकमा अनुपस्थित हुनुहन्थ्यो ।

कांग्रेसको अव्यवस्थापन र केही सांसदको गैरजिम्मेवारीका कारण संसद बैठक अबरोध भएका विषयमा सभामुख घर्तीले कार्यबाहक सभापति पौडेलसँग फोनमा कुराकानी गर्नुभएको स्रोतले जनाएको छ ।

जवाफमा कांग्रेस उपसभापति पौडेलले यस विषयमा आफूलाई थाहा नभएको भन्दै सो विषयमा मुख्य सचेतक चिनकाजी श्रेष्ठसँग जानकारी लिने बताउनुभएको स्रोतले जनायो ।

कांग्रेसका तर्फबाट आजको बैठकमा सांसद विमलेन्द्र निधी, महेश आचार्य र रामहरि खतिवडाले सम्बोधन गर्ने तय भएको थियो । तर अकस्मात कांग्रेसका केही सांसदहरूले कसैलाई थाहै नदिइ संसद बैठक उभिएर अबरोध गरेपछि सबै आश्चर्य चकित परेका छन् ।

यस विषयमा जानकारी लिन सम्पर्क गर्दा कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले गोलमटोल जवाफ दिनुभएको छ । उहाँले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न दिने कुनै सहमति आफूले नगरेको दाबी गर्नुभयो । पार्टीको निर्णयअनुसार सदन अवरोध गरेको उहाँको भनाइ छ ।

कांग्रेसले आज अचानक गरेको संसद अबरोध हेलचेक्र्याइ हो की लहड वा पार्टी निर्णयअनुसार भएको हो खोजविनको विषय बनेको छ । हेलचेक्र्याइका बीच भएको संसद अबरोधको कांग्रेसले जिम्मेवारीका साथ छानविन गर्नुपर्ने हुन्छ ।

कांग्रेसको पदाधिकारी बैठकले संसदमा आफ्नो सरकारका पालामा दर्ता गराएका संविधान संशोधनसम्बन्धी विधेयक पारित गराउन सरकारलाई दबाव दिने उद्देश्यले संसदीय पद्धतिमार्फत कारबाही चलाउने निर्णय गरेको एक साता वित्न नपाउँदै सांसदहरूले अकस्मात संसद अबरोध गरेर सबैलाई चकित तुल्याइ दिएका छन् ।