काठमाडौं, १० मंसिर । मधेस आन्दोलन तीन महिनाभन्दा पनि धेरै भइसक्दासमेत माग पूरा गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ तरिकाले आन्दोलन गर्ने सोँच बनाएको छ । त्यसका लागि औपचारिक छलफल पनि सुरू गरेको छ ।
नयाँ तरिकाले आन्दोलन गर्ने उद्देश्यले मधेसी मोर्चाले विभिन्न घटकहरूसँग काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा आज (बिहीबार) संयुक्त बैठक समेत गरेको छ । बैठकमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय भएको छ ।
बैठकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियान, पदमरत्न तुलाधरको जनजाति राष्ट्रिय आन्दोलन, भानुराम चौधरीको थरुहट तराई पार्टी र पासाङ शेर्पाको सामाजिक लोकतान्त्रिक पार्टीको सहभागिता रहेको थियो ।
बैठकपछि पत्रकारसँग कुरागर्दै नयाँ शक्ति निर्माण अभियानका नेता रामकुमार शर्माले तराई मधेस आन्दोलन एक सय दिन भइसक्दा पनि राज्यपक्षले ध्यान नदिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले मधेसी र थारुका मागलाई पूरा गराउन दवाव दिने उद्देश्यले राजधानी केन्द्रित आन्दोलन गरिने उल्लेख गर्नुभयो ।
‘तराई र मधेसमा पनि आन्दोलन जारी रहन्छ । राजधानीमा पनि आन्दोलन गर्छौ’, उहाँले भन्नुभयो, ‘तराई मधेसको आन्दोलनले मात्रै राज्यले सुनेन । आन्दोलन राजधानीमा गरेर धक्का दिन्छौँ ।’
यसै क्रममा मधेसी मोर्चा र अन्य घटकहरूले मंसिर २७ गते काठमाडौंमा बृहत प्रदर्शनको तयारी समेत गरेका छन् । त्यसका लागि अन्तरक्रिया, धर्ना लगायतका कार्यक्रम गरिने नयाँ शक्ति निर्माणका अर्का नेता रामचन्द्र झाले जानकारी दिनुभयो ।
मधेसी मोर्चा र अन्य घटकहरूको बैठक भोलि शुक्रबार पुनः बस्नेछ । आजको बैठकमा मधेसी मोर्चाका नेता महन्त ठाकुर, लक्ष्मणलाल कर्ण, लालबाबु राउत, महेन्द्र राय यादवलगायतका दर्जन नेताहरूको सहभागिता रहेको थियो ।














प्रतिक्रिया