काठमाडौं, १० मंसिर । भारतीय नाकाबन्दीको विरोधमा विभिन्न आन्दोलन गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नाकाबन्दीविरुद्ध नेपालबन्द आह्वान गरेको छ ।
भारतले अन्तर्राष्ट्रिय कानुन र सन्धी विपरित भूपरिवेष्ठित मुलुक नेपाललाई नाकाबन्दी लगाएर मानवता विरोध कार्य गरेको भन्दै विप्लव माओवादीले मंसिर १३ गते नेपाल बन्द आह्वान गरेको हो । बन्दका क्रममा सबै सर्वसाधारणले सहयोग गर्ने नेकपा माओवादी भक्तपुरका इञ्चार्ज तिलक मल्ल ‘क्षितिज’ले जानकारी दिनुभयो ।
‘भारतको दादागिरि र नाकाबन्दीको विरोधमा नेपाल बन्द राखेका छौँ’, उहाँले मल्लले भन्नुभयो, ‘भारतीय दमन र हस्तक्षेप नेपाली जनतालाई कदापि मान्य छैन ।’ उहाँले नेपाल बन्दको प्रचार प्रसारका लागि गरिँदै आएको मसाल जुलुस यस पटक नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।
नेपाल बन्दको प्रचार प्रसारका लागि विप्लव माओवादीले मंसिर १२ गते राजधानीका एक दर्जन स्थानमा कोणसभाको कार्यक्रम राखेको जनाएको छ ।
कोणसभा सूर्यविनायक, कलंकी, गंगबु, कालीमाटी, लगनखेल, कोटेश्वर, चाबहिल, बौद्धलगायतका प्रमुख चोकमा हुने छन् ।
यसैबीच, ‘विप्लव’ माओवादीले आज बिहीबारदेखि भारतीय फिल्म र टिभी च्यानहरूमा अबरोध पुर्याएको छ । हिन्दी भाषाका फिल्म र च्यानलहरू नचलाउन सबैलाई अपील पनि गरिएको भक्तपुरका इञ्चार्ज मल्लले जानकारी दिनुभयो ।
त्यसै गरी भारतीय नम्बर प्लेटका सवारी साधनलाई पनि चल्न नदिने उहाँले बताउनुभयो । ‘विप्लव’ माओवादीको चेतावनी पछि हिन्दी टेलिभिजन र हिन्दी फिल्म चल्न बन्द भएको बताइएको छ ।
त्यसै गरी भारतीय नम्बर प्लेटका सवारी साधन पनि सडकमा नदेखिएको इञ्चार्ज मल्लले दाबी गर्नुभयो ।












प्रतिक्रिया