– टेकराज भण्डारी
अछाम, ८ मंसिर । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले राज्यले अन्तिम समय सम्म संयम अपनाई रहेको भन्दै यही अवस्था रही रहे सरकार चुप लागेर नबस्ने बताउनु भएको छ ।
अहिले देशलाई नै अप्ठेरो पर्ने गरी तराईमा आन्दोलन भैरहेको र भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशमा मानवीय संकट उत्पन्न भैरहेको भन्दै यही अवस्था रहीरहे सरकार चुप लागेर नबस्ने बताउनु भएको हो ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा मंगलसैनमा गरीएको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधान तथा रक्षा मन्त्री रावलले यही अवस्था रही रहे सरकार चुप नलाग्ने आवश्यक कारबाही अघि बढाउने बताउनुभयो । नेपाली जनताका प्रतिनिधिले ८ बर्ष लगायर ९० प्रतिशत भन्दा बढीको सहमतिमा जारी गरिएको संविधान समावेशी नभएको भन्दै कुप्रचार गरिएको भन्दै भारतको संविधान ६५ प्रतिशत र अमेरिकाको संविधान ५५ प्रतिशतको सहमतिमा जारी भएको स्मरण गराउनुभयो ।
संविधानका कमजोरी वार्तावाट सुधार गर्न सकिने भन्दै वार्तालाई अस्वीकार गर्दै आन्दोलन चर्काउनुको भित्री रहस्य सबैले बुझिसकेको र अब सरकार पनि आफ्नो एक्सनमा अघि बढ्ने दावी गर्नुभयो । हिमाल पहाड तराई मिलेर बसेको देशमा पहाडलाई तराईसंग जोड्नै नहुँने किन ? भन्दै प्रतिप्रश्न गर्नुभयो । राज्यलाई सबै कुरा थाहा छ, तर अन्तिम समयसम्म संयम अपनाई वार्ताबाटैै सबै समस्या समाधानको लागि पहल गरिरहेकोमा जोड दिनुभयो ।
संविधानको बारेमा जानकारी तथा पार्टी कार्यकर्ता प्रशिक्षणको शिलशिलामा अछाम आउनु भएका नेता रावलले सीमा अवरोध र अघोषित नाकाबन्दी अमानवीय, अलोकतान्त्रिक र सभ्य व्यक्तिले गर्नै नहुने कार्य भएको टिप्पणी गर्नुभयो । लामो समयदेखि राज्य कमजोर भएका कारण विभिन्न विकृति भएको स्वीकार गर्दै नेता एमाले केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका नेता रावलले नेपालको भुपरिवेष्ठित राज्यले पाउने पारबहन अधिकार हनन भएको कुरा संयुक्त राष्ट्रसंघका महासचिवले समेत भनिसकेको बताउनुभयो ।
चीनसंग पनि ईन्धन ल्याउने विषयमा सम्झौता हुने क्रममा रहेको उहाँले बताउनु भयो । अघोषित नाकाबन्दी लामो समयसम्म रहे यो नेपालको मात्र नभई भारतको समेत हितमा नरहेकोले यो लामो समय नरहने उहाँको विश्वास छ । जनतालाई परेको अप्ठेरोप्रति सरकार सचेत रहेको र समस्या समाधानको लागि सरकार प्रयत्नशील रहेको उपप्रधान तथा रक्षा मन्त्री रावलको भनाई छ ।
नेपाल र नेपाली माथि भएको समस्या तथा सीमा नाकामा धर्ना बस्ने तथा सीमा पारी गएर नेपालमाथी ढुंगा हान्नेमाथी सरकार चुप नबस्ने दाबी गर्नुभयो । झापालाई पहाडसंग कुनै हालतमा अलग पार्नुपर्ने भन्दै किन पर्साको मान्छेले बोल्नुपर्ने ? रक्षामन्त्री रावलले प्रतिप्रश्न गर्दै यसको रहस्य सबैले बुझिसकेकोले देशलाई अप्ठेरो र राष्टीय अखण्डता कायम गर्ने कुरामा सरकार दृढ रहेको भनाई राख्नुभयो ।













प्रतिक्रिया