२२ कार्तिक २०८३, आइतबार

राप्रपा नेपाल केन्द्रीय परिषद् बैठकः १० बुँदे घोषणापत्र जारी, के-के छ घोषणापत्रमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raparpa-nepal (1)

काठमाडौं, ८ मंसिर । आइतबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पहिलो केन्द्रीय परिषद् बैठकले १० बुँदे घोषणापत्र जारी गरेको छ ।

मंगलबार १० बुँदे घोषणा जारी गर्दै राप्रपा नेपालको परिषद बैठक सकिएको हो सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तो छ राप्रपा नेपाल केन्द्रीय परिषदद्धारा जारी घोषणापत्रः

१) राप्रपा नेपालको केन्द्रीय परिषदको बैठकमा अध्यक्ष कमल थापाद्धारा प्रस्तुत राजनीतिक कार्यपत्र सर्वसम्मपतिबाट पारित गर्ने निर्णय गर्दछ । साथै साँगठनिक, प्रशिक्षण र हरेक वडामा राप्रपा नेपाल हरेक क्षेत्रमा राप्रपा नेपाल सम्बन्धि कार्यक्रम र भावि कार्ययोजना सम्बन्धि प्रतिवेदनहरु परिमार्जन सहित पारित गर्ने निर्णय गर्दछ ।

२) हाल विद्यमान तराई मधेसमा भइरहेको आन्दोलनले नेपाली जनजीवन कष्टकर बन्दै गएको छ । भारतद्धारा अघोषित नाकाबन्दीका कारण मानवीय संकट उत्पन्न हुने संभावना बढेर गएको हुंदा नेपाल सरकार र राजनीतिक दलहरुले छिमेकी मित्र देश भारतसंग अघोषित नाकाबन्दी खोल्नका लागि कूटनीतिक पहल गर्न यो बैठक माग गर्दछ ।

३) आन्दोलनरत मधेसकेन्द्रीत दलहरुको मागलाई राष्ट्रिय हित अनुसार सम्बोधन गर्न नेपाल सरकार र मधेसकेन्द्रीत दलहरु बीच शान्तिपूर्ण सम्वाद मार्फत समाधान गर्न आग्रह गर्दछ । राष्ट्रिय हितका लागि दलगत स्वार्थभन्दा माथि उठेर सवै राजनीतिक दल एकतावद्ध रहनु पर्नेमा बैठकले जोड दिएको छ । साथै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्न, समानुपातिक समावेशी प्रतिनिधित्वका लागि संवैधानिक प्रक्रियाबाट सम्बोधन गर्न यो बैठक सरकारसँग माग गर्दछ ।

Raparpa-nepal (2)४) भूकम्प पीडितहरुको लागि तत्कालै विशेष राहत तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्दै भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणमा तीब्र रुपमा काम अघि बढाउनका लागि नेपाल सरकारलाई बैठक माग गर्ने निर्णय गर्दछ । यसैगरी भूकम्प पुननिर्माण प्राधिकरण यथासिघ्र गठन गर्न राप्रपा नेपालको केन्द्रिय परिषदको यो बैठक नेपाल सरकारसँग जोडदार मांग गर्दछ ।

५) स्थानीय निकाय लामो समयदेखी जनप्रतिनिधिविहीन भएका कारणले यथासिघ्र स्थानीय निकायको चुनाव गरिनु पर्दछ भन्ने यो बैठक जोडदार माग गर्दछ ।
६) राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा घोषणा गर्न यो बैठक नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

७) राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा उदाउंदै गैरहेको राप्रपा नेपाल प्रति अहिले जनतामा ठूलो आशा र भरोसा रहेको छ । यस क्रममा समान विचार भएकाहरुसँग सहकार्य, मोर्चा वा कार्यगत एकता गर्दै जाने पार्टीको नीति हुनेछ ।

८) स्थापना भएदेखि पार्टीको विधान परिमार्जन नभएको कुरालाई समेत दृष्टिगत गर्दा विधान संशोधन गर्नुपर्ने आवश्यकताअनुरुप पार्टीको केन्द्रिय परिषद्को यो बैठक राप्रपा नेपालको विधान २०६२ को पहिलो संशोधन २०७२ पारीत गरी आजकै मितिबाट लागू भएको घोषणा गर्दछ ।

९) यो बैठक भइरहंदा पार्टीको स्थापनाकालदेखि अनवरत रुपमा जीवनको अन्तिम घडीसम्म पार्टीका महामन्त्री स्वर्गिय चन्द्रबहादुर गुरुंगले पु¥याउनुभएको योगदानको उच्च प्रशंसा, मुल्यांकन र सम्मान गर्दै यो बैठक उहांप्रति श्रद्धान्जली अर्पण गर्दछ र दिवंगत आत्माको चीरशान्तिको कामना पनि गर्दछ ।

१०) पार्टीको ऐतिहासिक प्रथम केन्द्रिय महाधिवेशनपश्चात् पहिलो पटक बसेको केन्द्रिय परिषदको बैठकमा तराई केन्द्रित केही राजनीतिक दलहरुले गरिरहेको आन्दोलन तथा भारतबाट भइरहेको अघोषित नाकाबन्दीको परिणामस्वरुप उत्पन्न अत्यन्त असहज र प्रतिकुल परिस्थितिका बावजुद जुन उत्साहका साथ देशभरीबाट केन्द्रिय परिषदका सदस्य तथा पर्यवेक्षक साथीहरु उपस्थित भई सक्रियतापूर्वक सहभागिता जनाउनुभएको छ, त्यसका लागि यो केन्द्रिय परिषद्को बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।