म्याग्दी, ८ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको वर्तमान समस्याको समाधान गर्न राष्ट्रिय एकताको आवश्यकता रहेको औँल्याउनुभएको छ ।
राम्चे–७ काफलडाँडाको करबाकेलीमा आज पुन समाज नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले सङ्कटको अवस्थामा सबै नेपालीमा धैर्य, संयमता, आत्मविश्वास र एकताको आवश्यकता छ भन्नुभयो ।
भारतसँग कूटनीतिक पहल गरी सीमा क्षेत्रमा देखिएको आपूर्तिको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ । “मित्रराष्ट्रसँगको अप्ठ्यारालाई पनि सरकारले कूटनीतिक रुपमा पहल गरेर समाधान खोजिरहेको छ”–उपराष्ट्रपति पुनले भन्नुभयो, “तराई क्षेत्रको समस्यालाई पनि वार्ता र छलफल गरी राजनीतिक रुपमा समाधान खोजिनुपर्छ ।”
म्याग्दीको जलविद्युत् र पर्यटन क्षेत्रको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउँदै उहाँले पुन समुदायको ऐतिहासिक तथा धार्मिक धरोहरको रुपमा रहेको करबाकेलीलाई प्रवद्र्धनमा सक्दो सहयोग गर्ने बताउनुभयो ।
सो अवसरमा पूर्वमन्त्री तथा पुन समाजका संरक्षक उत्तम पुनले सामाजिक कामका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । सोही अवसरमा उपराष्ट्रपति पुनले करबाकेली थान परिसरमा स्थापित सुन गिद्धको प्रतिमाको अनावरण गर्नाका साथै पूर्वगोर्खा सैनिक दलबहादुर पुनले लेखेको ‘गोर्खा सैनिकमा नेपालीको दुई सय वर्ष’ नामक पुस्तकको विमोचन गर्नुभयो । रासस












प्रतिक्रिया