२२ कार्तिक २०८३, आइतबार

पूर्वमन्त्री बस्नेतले चार स्वास्थ्य चौकीलाई औषधि बाँडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnet-1भक्तपुर, ८ मङ्सिर । स्वास्थ्य चौकीहरुमा औषधिको चरम अभाव भएपछि पूर्व उद्योग मन्त्री एवम् मानवीय आस्था नेपालका संरक्षक महेश बस्नेतले चारवटा स्वास्थ्य चौकीलाई औषधि वितरण गर्नुभएको छ ।

भारतीय नाकाबन्दीका कारण औषधि आयात हुन नसक्दा भक्तपुरका स्वास्थ्य चौकीहरुमा औषधिको अभाव भएपछि मानवीय आस्था नेपालले सङ्कलन गरेको औषधि उहाँले वितरण गर्नुभएको हो ।

गत वैशाखको विनाशकारी भूकम्पमा उद्धारका क्रममा घाइतेलाई वितरण गर्न ल्याएर बाँकी रहेका तथा विभिन्न ठाउँबाट सङ्कलन गरिएका रु दुई लाख ६८ हजार मूल्य बराबरको ३८ प्रकारका औषधि वितरण गरिएको हो ।

अनन्तलिङ्गेश्वर नगरपालिकाको संयोजनमा भएको कार्यक्रममा जिल्लाको सिरुटार स्वास्थ्य चौकी, बालकोट स्वास्थ्य चौकी, दधिकोट स्वास्थ्य चौकी र गुण्डु स्वास्थ्य चौकीलाई औषधि वितरण गरिएको हो ।

औषधि वितरण गर्दै पूर्वमन्त्री बस्नेतले भारतीय नाकाबन्दीका कारण देशभर औषधिको अभाव भइरहेको बताउँदै भारत नेपालको असल छिमेकी हुन नसकेको बताउनुभयो ।

युद्धका बेलामा समेत नरोकिने औषधिको आयातलाई रोकेर भारतले विश्वसमक्ष मानव अधिकार उल्लङ्घनको नमुना प्रस्तुत गरेको उहाँको भनाइ थियो ।

मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जीतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्साल, राजनीतिक दलका प्रतिनिधिहरुका तर्फबाट शशिजङ्ग थापालगायतले नाकाबन्दीले मानवीय स्वास्थ्य सङ्कटमा परेको धारणा राख्नु भएको थियो । रासस