
रौतहट, ७ मंसिर । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले लगातारको नाकाबन्दी र बन्दहड्तालको विरोध तथा चुरे भावर प्रदेशको माग गर्दै रौतहट जिल्लामा प्रदर्शन गर्दैछ ।
चुरे भावर पार्टीले मधेसी मोर्चाले सामाजिक सद्भाव बिगार्न खोजेको आरोप पनि लगाएको छ । उसले पूर्वपश्चिम महेन्द्र राजमार्गमा निर्वाध सवारी साधन गुड्न दिने मधेसी मोर्चालाई चेतावनी दिएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गमा कसैले अबरोध गरे प्रतिकार गर्ने चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले चेतावनी दिनुभयो ।
‘यात्रुलाई दुःख दिने गरी राजमार्गमा कसैले प्रदर्शन गर्नु हुँदैन’, उहाँले भन्नुभयो, ‘मधेसी मोर्चा वा कुनै दलले राजमार्गमा अबरोध गरेर जनतालाई दुःख दिए हामीले प्रतिकार गरी हटाउने छौँ ।’ उहाँले सामाजिक सद्भाव र सबै नेपाली मिलेर बाँच्न पाउने अधिकारलाई कसैले खेलवाड गर्न नहुने उल्लेख गर्नुभयो ।
बिहीबार मध्यान्ह १२ बजे चुरे भावर प्रदेशको माग गर्दै चन्द्रनिगाहपुरमा प्रदर्शन गर्न लागिएको चुरे भावर पार्टीका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
‘विगतमा सरकारसँग भएको सहमतिअनुसार चुरे भावर क्षेत्र समेटेर प्रदेश बनाइनुपर्छ’, उहाँले भन्नुभयो, ‘चुरे भावरको माग पूरा गराउन दबाव दिने उद्देश्यले आन्दोलन सुरु गरेका हौँ ।’
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सर्लाही, रौतहट, बारा, महोत्तरीलगायतका जिल्लामा सामाजिक सद्भाव, नाकाबन्दीको विरोध, मधेसी मोर्चाको आन्दोलनको विरोध र चुरे प्रदेशको माग गर्दै प्रदर्शन गर्दै आएको छ । प्रदर्शनमा उल्लेख्य सर्वसाधारणहरूको सहभागिता रहने गरेको छ ।












प्रतिक्रिया