काभ्रे, ५ मंसिर । एमाले निकट युवा संघ नेपालले तराइमा जारी आन्दोलनको प्रतिकार गर्ने भएको छ ।
युवा संघ नेपाल काभ्रेले धुलिखेलमा आयोजना गरेको नगरअधिवेशनमा युवा संघका नेताहरुले तराईमा जारी आन्दोलनमा मधेसी मोर्चाले गरेको अमानवीय गतिविधीविरुद्ध प्रतिकारमा उत्रने तयारी रहेको युवा संघका केन्द्रीय उपाध्यक्ष एव युथफोर्स प्रमुख चन्द्र लामाले बताए ।
उपाध्यक्ष लामाले एमाले पार्टी कार्यालय र एमाले नेता माधवकुमार नेपालको घरमा भएको आगजनीको बदला मधेसी मोर्चासंग लिने जिकिर गरे । उनले धुलिखेलबाटै मधेसमा भएका अमानवीय घटनाको प्रतिकारका लागि तयार रहन युवा संघका कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा पूर्वमन्त्री एवं एमाले नेता महेश बस्नेतले तराई आन्दोलनका नाममा देशलाइ अफ्ठेरोमा पार्ने काम गर्नेलाई एमालेले क्षमा नदिने स्पष्ट पारे । उनले तराई आन्दोलनका अगुवा नेताहरुलाई अवसरवादी भएको आरोप लगाउदै नेपाली जनता सामु भारतबाट चलित आन्दोलनका मागलाई अर्थहिनता रहेको दावी गरे ।
नेता बस्नेतले कांग्रेसले देशलाई अफ्ठेरोमा पारेर भागेको आरोप लगाए । कार्यक्रममा एमाले काभ्रेका सचिव अशोक व्याञ्जुले एमालेले राष्ट्रियतालाई भड्कन नदिने बताए । युवा संघ नेपाल काभ्रेका अध्यक्ष राकेश लामाले देश र जनताका लागि जस्तो सुकै बलिदानि दिन युवा संघ तयार भएको बताए । युवा संघका नेता निराजन जंगमले तराइको आन्दोलनले जनतामा परेको असरलाई युवाहरुले शक्तिमा बदल्नु पर्नेमा जोड दिए ।













प्रतिक्रिया