
काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेकपा एमालेले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई कडा चेतावनी दिएको छ ।
शुक्रबार एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका–३ स्थित घरमा मधेसी मोर्चासम्बद्ध व्यक्तिहरूले आक्रमण र तोडफोड गरेपछि विज्ञप्ति निकालेर ध्यानाकर्षण जनाउँदै एमालेले यस्तो कार्य नरोके प्रतिकार गर्ने अवस्था आउने चेतावनी दिएको हो ।
सरकार मधेसी मोर्चाबीच वार्ता प्रक्रिया अघि बढिरहेका बेला यस्तो आक्रमणले अराजकताको सन्देश दिन खोजेकाले परिस्थिती खराब बन्न सक्नेमा एमालेले सचेत समेत गराएको छ ।
एमाले सचिव प्रदीप ज्ञवालीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘यस प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न हाम्रो पार्टी सम्बन्धित पक्षलाई समयमै सचेत गराउन चाहन्छ ।’
जुनसुकै आन्दोलनले आफ्नो संयम र विवेक गुमाउन नहुनेमा जोड दिँदै राजनीतिक नेतृत्व तहका बरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन नसक्ने पनि एमालेले जनाएको छ ।
‘राजनीतिक नेतृत्व तहका बरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन सक्दैन । यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित छ । तसर्थ मधेसकेन्द्रित दलहरुले यस्ता क्रियाकलापहरुलाई तुरुन्त नियन्त्रण गरेर वार्ता, संवाद र समझदारीको माध्यमबाट निकास खोज्न पनि हाम्रो पार्टी गम्भीरतापूर्वक आग्रह गर्न चाहन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ एमालेको विज्ञप्तिः जस्ताको तेस्तै
प्रेस विज्ञप्ति
नेकपा (एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री कमरेड माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका–३ स्थित घरमा आज मधेसी मोर्चासम्बद्ध व्यक्तिहरूले गरेको आक्रमण र तोडफोडप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न हाम्रो पार्टी सम्बन्धित पक्षलाई समयमै सचेत गराउन चाहन्छ ।
जुनसुकै आन्दोलनले आफ्नो संयम र विवेक गुमाउनु हु“दैन । राजनीतिक नेतृत्व तहका बरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन सक्दैन । यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित छ । तसर्थ मधेसकेन्द्रित दलहरुले यस्ता क्रियाकलापहरुलाई तुरुन्त नियन्त्रण गरेर वार्ता, संवाद र समझदारीको माध्यमबाट निकास खोज्न पनि हाम्रो पार्टी गम्भीरतापूर्वक आग्रह गर्न चाहन्छ ।
प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय












प्रतिक्रिया