काठमाडौं, ४ मंसिर । भूकम्पका घाइतेको उपचारमा सहयोग पुर्याउन भन्दै विभिन्न संघ–संस्थाले हवाई कार्गो गरी पठाएका करिब डेढ अर्ब मूल्यबराबरको औषधि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा थन्किएको छ ।
एक प्रतिशत भन्सार महसुल तिर्न नसक्दा ठूलो परिमाणको औषधि भन्सारमा थन्किएको नयाँ पत्रिका दैनिकले छापेको छ । त्यसमध्ये करिब १० प्रतिशत औषधिको म्याद गुज्रिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भारतको नाकाबन्दीले बजार र अस्पतालमा अभाव हुन थालेपछि मन्त्रालयले औषधिको मौज्दात खोजी गर्ने क्रममा विमानस्थलमा रोकिएको औषधिबारे पुनस् चासो देखाएको छ ।
रोकिएको औषधि शून्य भन्सार दरमा छुटाउने वा शुल्क तिर्ने भन्नेबारेमा अर्थ मन्त्रालयसँग छलफल गर्न लागेको उसले जनाएको छ ।
गत असार तेस्रो सातापछि भूकम्पपीडितलाई सहयोग पुर्याउन भन्दै अमेरिकी गैरसकारी संस्था होप प्रोजेक्ट युएसए र अन्य चारवटा संस्थाका नामबाट डेढ अर्बबराबरका महँगा औषधि नेपाल भित्रिएको थियो ।
त्यतिवेला भूकम्पकै लागि भनिए पनि २० असारपछि प्राप्त औषधिलाई सरकारले एक प्रतिशत भन्सार लिने निर्णय गरेको थियो । ढिलोगरी प्राप्त ती औषधि महसुल एक प्रतिशतको दरले डेढ करोड बढी तिर्नुपर्ने भएपछि मन्त्रालयको आपूर्ति महाशाखाले औषधि ल्याएको थिएन ।
बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित बैठकमा विमानस्थलमा ठूलो परिमाणमा औषधि रहेको पुनर्चर्चा चलेपछि उपसचिव राजीव पोखरेलसहित दुईजनालाई अवस्था बुझ्न पठाइएको थियो ।
स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले विमानस्थलमा ठूलो परिमाणमा औषधि रहेको बुझिएपछि अवस्थाबारे जानकारी लिन प्रतिनिधि पठाएको बताए । उनले औषधिको अवस्था बुझेपछि त्यसलाई कसरी भन्सार छुटाउने भन्नेबारेमा छलफल हुने जानकारी दिए ।















प्रतिक्रिया