२२ कार्तिक २०८३, आइतबार

‘दशगजामा बसेर समस्याको समाधान हुँदैन वार्ताबाटै निकास खोजौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DPM Rayamajhi-3काठमाडौँ, २ मङ्सिर । उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले कूटनीतिक पहलबाट वर्तमान समस्याको समाधान गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल चेतना केन्द्र अर्घाखाँचीले आज यहाँ आयोजना गरेको राष्ट्रिय ग्रामीण विकास पुरस्कार तथा सम्मान कार्यक्रममा मन्त्री रायमाझीले भन्नुभयो, “संविधान निर्माणसँगै उठेको मधेस आन्दोलन र नाकाबन्दीको चाँडो अन्त्य गर्नुपर्छ ।”

मन्त्री रायमाझीले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको सरकारको खाँचो रहेको बताउँदै राष्ट्रिय सहमति र सहकार्यका लागि नेपाली काँग्रेसले सरकारलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधान निर्माण गरेर ठूलो प्रतिष्ठा हासिल गरेको दल काँग्रेस सरकार बाहिर हुनु ठूलो भूल भएको धारणा राख्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले राष्ट्रियता जटिल मोडमा पुगेको भन्दै वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दशगजामा बसेर समस्याको समाधान हुँदैन वार्ताबाटै समस्याको निकास खोजौँ ।”

नेता खाँडले नेपालको समग्र विकासका लागि हिमाल, पहाड, तराई एक भएर अगाडि बढ्नुपर्ने र मुलुकलाई विकासको गतिमा लैजानु आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले आफ्नो पार्टी प्रतिपक्षमा बसे पनि राष्ट्रियताको मुद्दामा सरकारलाई सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

केन्द्रकी अध्यक्ष निर्मला क्षेत्री, गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसी, हेफर इन्टरनेसनलका अध्यक्ष डा तीर्थराज रेग्मी, बालसेवा समाज नेपाल खोटाङका अध्यक्ष दीपनारायण रिजाललगायतले संविधान निर्माणसँगै देशलाई विकासको बाटोमा अगाडि लैजानुपर्ने धारणा राख्नुभएको थियो ।

सो अवसरमा नेपाल चेतना केन्द्र अर्घाखाँचीले पत्रकार ऋषि धमलासहित तीन व्यक्तिलाई सम्मान गरेको थियो । केन्द्रले राष्ट्रिय ग्रामीण पुरस्कार दीपनारायण रिजाल र ग्रामीण शिक्षा पुरस्कारबाट निजी तथा आवासीय विद्यालय महासङ्घ (प्याप्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीलाई सम्मान गरेको थियो । रासस