२२ कार्तिक २०८३, आइतबार

कांग्रेसले भन्यो- निर्णायक वार्ताबारे जानकारी छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dilendra-badu

काठमाडौँ, २ मङसिर । सीमाङ्कनमा चित्त नबुझी आन्दोलनरत तराई मधेसकेन्द्रित दलसँग आज गर्ने भनिएको निर्णायक वार्ताका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई कुनै जानकारी नै छैन ।

“सत्तारुढ दलहरुले तराई मधेसीवादी दलसँग निर्णायक वार्ता आज गर्ने भनी भ्रम र मिडियाबाजी मात्र गरे, कहाँ र कहिले वार्ता हुन्छ, नेकालाई कुनै जानकारी छैन”–नेकाका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई भन्नुभयो ।

नेका संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको पदाधिकारी बैठकपछि उहाँले निर्णायक वार्ताका बारेमा नेकालाई कुनै जानकारी नभएको बताउनुभयो । सरकारमा सहभागी दल, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत पक्षसँग मुख्यतः सीमाङ्कनका विषयमा आज निर्णायक वार्ता हुने सार्वजानिक भएको थियो ।

बैठकले आफ्ना पार्टी सभापति सुशील कोइरालाको कार्यसमयमा आएको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयकलाई परिमार्जन नगरी जस्ताकोतस्तै ल्याउन सरकारसँग मागसमेत गरेको छ ।

नेकाका कार्यवाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, प्रवक्ता बडूलगायतको सहभागिता थियो ।

बैठकले तराई मधेसमा आन्दोलनरत पक्षले उठान गरेका मुख्य माग सीमाङ्कनलाई सम्बोधन गर्न नेका नेतृत्वको सरकारले निर्वाचन क्षेत्र निर्धारण र समावेशीताबारे संविधान संशोधन विधेयकलाई अगाडि बढाउन पनि सरकारसँग माग गरेको प्रवक्ता बडूले जानकारी दिनुभयो । रासस