काठमाडौँ, १ मङ्सिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले आज इन्धन अभावका कारण लाखौँ विद्यार्थीले नियमित पठनपाठनको अधिकार नपाएको विषयमा नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई ज्ञापनपत्र बुझाएको छ ।
प्याब्सनका केन्द्रीय सचिवालयका पदाधिकारी, सल्लाहकार, सदस्य तथा काठमाडौँ उपत्यकाका तिनै जिल्लाका अध्यक्षको संयुक्त टोलीले बालअधिकार सुनिश्चितताका लागि ज्ञापनपत्र बुझाएको हो ।
तराई मधेस केन्द्रित दलको आन्दोलनको कारण सीमामा अवरोध भएको भन्दै भारतले इन्धन आपूर्तिमा अघोषित नाकाबन्दी लगाएकाले आफ्ना विद्यालयका सवारीसाधन गुड्न नसकेको पत्रमा उल्लेख गरिएको प्याब्सनका अध्यक्ष लक्षबहादुर केसीले जानकारी दिनुभयो ।
तर, भारतीय राजदूत रे ले भने नाकाबन्दी गरेको अस्वीकार मात्र गरेनन्, इन्धन आएको समाचार देखाउँदै यो कहाँ गयो भनेर प्रश्न गर्नुभएको छ ।
राजदूत रेले भने नेपालमा भारतविरोधी भावना बढिरहेकोप्रति आफू जानकार रहेको बताउुनभएको छ । साथै उहाँले यो अवस्थाले भारत र नेपाल दुबै देशको हित नगर्ने धारणा राख्नुभयो ।
राजदूत रेले भारतले नेपालमाथि नाकाबन्दी नगरेको बरु नेपालकै कारण समस्या आएको दोहोर्याउनुभयो । । ‘यो राजनीतिक इस्यू हो । यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्छ’ रेले भन्नुभयो- ‘नेपालको संविधानको भारतले विरोध गरेको छैन । नेपालका दलहरुले असन्तुष्ट पक्षलाई सहमतिमा लिएर जानुपर्छ ।’
भारतले नाकाबन्दी गरेको र इन्धन आपूर्ति नभएको भनेर लगाइएका आरोपको राजदूत रेले खण्डनसमेत गर्नुभयो । उहाँले नेपालको एक अंग्रेजी दैनिक पत्रिकाले लेखेको समाचार देखाउँदै ‘हेर्नुस्, ३० हजार लिटर इन्धन नेपाल आएको छ । यो कहाँ गयो ? भनेर प्रश्न समेत गर्नुभयो ।
भारतीय राजदूत रेले रक्सौल नाकामा मात्र अवरोध रहे पनि अरु सबै सीमा नाका खुल्ला रहेको बताउनुभयो । रासस












प्रतिक्रिया