३१ आश्विन २०८३, शनिबार

महाधिवेशन कब्जा गर्ने ओलीको गोप्य रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-final

काठमाडौं, १८ असार । बिहीबारबाट राजधानीमा सुरु हुने नेकपा एमालेको नवौं महाधिवेशन आफ्नो पक्षका पार्न अध्यक्षका प्रत्यासी केपी ओली समूहले महाधिवेशनस्थल नै कब्जा गर्ने गोप्य रणनीति बनाएको खुलासा भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा भएको ओली पक्षका स्वंयसेवकहरुको भेलामा युुवा संघका अध्यक्ष महेश बस्नेतले महाधिवेशन कब्जा गर्ने गोप्य रणनीति सार्वजनिक गरेका हुन् । युवा संघका अध्यक्ष बस्नेतले महाधिवेशन कब्जाका लागि स्वयंसेवकहरुलाई ८ बुँदे रणनीतिबारे प्रशिक्षण गराएका थिए । यस्तो छ गोप्य रणनीति:

१. मूल गेटमा ३०० जना आफ्नो पक्षका स्वयम्सेवकहरु तयार गरिने, उनीहरुलाई पिउने पानी, खाजा, आवास सहित आवश्यक सबै कुराको व्यवस्था मिलाइने, रातीमा पनि स्वयम्सेवकहरुको पालो मिलाएर उक्त क्षेत्रको अबलोकन गरिने,

२. मूल गेटमा रहने स्वयम्सेवकहरुले आफ्नो पक्षको नेता आउदा हौस्याउने, नारा लगाउने र भित्र पठाउने काम गर्ने तथा अर्को पक्षको नेता आउँदा खिस्याउन, हास्ने र उडाउने प्रकृतिका काम गर्ने,

३. मूल गेटमा के.पी. पक्षका कलाकारहरुको टोली निर्माण गरी के.पी. ओलीलाई अध्यक्ष बनाऔँ भनेर बाजा गाजा तथा नाच गान गर्ने,

४. २२ वा २३ गते नेतृत्व निर्माणको प्रक्रिया शुरु भएपछि के.पी. ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग राख्दै १०–१० जनाको टोली बनाएर अनशन/धर्ना बस्ने,

५. महाधिवेशनको भित्र रहेका वा आधिकारिक स्वयम्सेवकहरुको भूमिका महत्वपूर्ण रहेको छ, हाम्रै पहलमा भोटिङ्ग मेशिनको प्रयोग गरिएको छ, यो हाम्रो अनुकुल छ,

६. महाधिवेशनका आधिकारिक स्वयंसेवकले आफ्नो पक्षका अध्यक्ष देखि केन्द्रिय सदस्य र निकायका पदाधिकारीहरुसम्मको नाम कण्ठस्त गर्ने, कुनै पनि प्रतिनिधि मतदान गर्न अलमलमा परेमा तत्काल सहयोग गर्न जाने र उनीहरुले जे भने पनि आफ्नो पक्षमा मतदान गराउने, सुरक्षकर्मी सहयोगी हुनेछन्,

७. शक्ति र पैसा दुबैको पूर्ण प्रयोग गर्ने, प्रत्येक प्रतिनिधिलाई पक्ष वा विपक्षमा दृढ, पदको प्रलोभनमा पर्न सक्ने, पैसाको प्रलोभनमा पर्नसक्ने, अन्य कुनै आश्वासनमा पर्नसक्ने भनेर जिल्ला जिल्लाको सूचि तयार भैरहेको छ, जे जे प्रयोग गर्न परे पनि गरिन्छ, यहाँहरुले पनि यसमा केही सूूचना छ भने पनि दिनुहोला, हामी ५०० भोट जित्दैछौँ, उच्च मनोवल सहित अगाडि बढौँ ,

८. हाम्रो विशेष कुरा यहाँ भन्न मिल्दैन रमेश पौडेल र महेश बर्तौलाले यहाँहरुको कान कानमा भन्नुहुनेछ ।


mahesh_basnet

युवा संघका अध्यक्ष बस्नेतले भने मंगलबार युवा र अखिलका विद्यार्थीको भेला भएको स्वीकारेका छन् । तर, त्यो प्रशिक्षणलाई माधव नेपाल समूहले अतिरञ्जित गर्ने काम गरेको बस्नेतले प्रतिक्रिया दिएका छन् । बस्नेतको भनाइ जस्ताको तस्तैः

हामीले भेला गरेका हौं । महाधिवेशनका विषयमा युवा संघ र अनेरास्ववियुको संयुक्त भेला राखिएको थियो । तर, त्यसलाई अतिरञ्जित बनाइएको छ । यो प्रचार गर्ने कुरा हारको मानसिकता हो ।

युवा संघ नेपाल स्वभाविक ढंगले केपी ओलीलाई अध्यक्ष बनाउन लागेको छ । यसको मतलब अन्य प्रतिस्पर्धी नेतालाई अपमान गर्ने भन्ने युवा संघको नीति छैन । अब मंगलबारको भेलाको सन्दर्भमा केही केही मिडियाबाट केही केही कुरा आए, योजनाबद्ध रुपमा युवासंघलाई बदनाम गराउने र म आफै उम्मेदवार भएको सन्दर्भमा मलाई समेत विवाद ल्याउने ढंगले विषयवस्तु उठेका छन् । केपी ओलीलाई अध्यक्ष बनाउनका निमित्त कुनै अवैधानिक र नाजायज काम गर्नुपर्ने देखिन्न । किनभने ७० प्रतिशत भन्दा बढी प्रतिनिधि उहाँको पक्षमा चुनिएर आएको अवस्था छ ।