– विमल योगी
काठमाडौं, ३० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्पपछिको पुनर्निर्माणका लागि गठन गरिएको पुनर्निर्माण प्राधिकरण अगाडि बढाउन दबाब दिने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको केन्द्रीय पदाधिकारी बैठकले कोइराला सरकारले गठन गरेको प्राधिकरणलाई नै अगाडि बढाउन सरकारलाई दबाब दिने निर्णय गरेको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
कांग्रेसले गठन गरेको प्राधिकरण विधेयकमामा भूकम्प पीडितले न्युनतम १५ हजारदेखि २५ लाखसम्म पाउने उल्लेख छ । साथै न्यून ब्याजदरमा आवश्यक ऋण समेत उपलब्ध गराउने उल्लेख छ । भूकम्पबाट भत्किएका संरचना, विकास निर्माण, बस्ती निर्माणका लागि भूकम्प गएलगत्तै तत्कालिन प्रधानमन्त्री सुशील कोइराला सरकारले प्राधिकरण गठन गरेको थियो । तर, सरकार परिवर्तन, संविधान निर्माणका कामले प्राधिकरण ओझेलमा परेको थियो ।
हिउँद सुरु भएसँगै भूकम्पपीडितहरुले न्यानो बास नपाएपछि कांग्रेसले प्राधिकरण विधेयकलाई चाँडो भन्दा चाँडो संसदबाट पास गराएर प्रभावित क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न माग गरेको हो । साथै कांग्रेसले पुनर्निर्माण प्राधिकरणका अध्यक्ष डा. गोविन्दराज पोखरेललाई नै निरन्तरता दिन माग गरेको छ ।
बैठकमा सहभागी भूकम्प प्रभावित क्षेत्रका २५ सभासदले भूकम्पपीडितलाई चाँडो भन्दा चाँडो राहत र क्षतिपूर्ति दिनुपर्ने माग नेतृत्वसँग राखेका थिए । बैठकमा नेपाली कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, सभासद लगायतको सहभागिता थियो ।













प्रतिक्रिया