– सुमन घिमिरे
मोरङ, २९ कात्तिक । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मोरङ क्षेत्र नम्बर १ का एमाले सांसद ऋषिकेश पोखरेल र केन्द्रीय सदस्य महफुज अन्सारीमाथि मोरङको झुर्कियामा आज आक्रमण गरेका छन् ।
एमाले क्षेत्रीय कमिटीले झुर्कियाको पैयामारी प्राविमा आज शुभकामना आदान प्रदान तथा संबिधानको अन्र्तरवस्तुका बारेमा कार्यकर्तालाई जानकारी दिने कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सांसद पोखरेल र केन्द्रीय सदस्य अन्सारीलाई मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्दै आक्रमण गरेका हुन् । ढुंगाले लागेर सभासद चढेको बा १३ च ३१४० नम्बरको बोलेरो जीपका सिसा फुटेको छ । सभासद पोखरेल र केन्द्रीय सदस्य अन्सारी भने सकुशल छन् ।
आक्रमणबाट एमाले जिल्ला सचिवालय सदस्य रामलाल साहलाई भने सामान्य चोट लागेको छ । आफूहरुमाथि मधेसी मोर्चाका नेता विनोद सिंह, उदय यादव र हरि शाहले नेतृत्व गरेको ४०÷५० जनाको समुहले आक्रमण गरेको एमाले क्षेत्रीय सचिव गोपी चापागाईले जानकारी दिनुभयो ।
उनीहरुलाई कारबाहीको माग गर्दै एमालेले इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी समेत दर्ता गराएको छ । एमाले मोरङका अध्यक्ष महेश रेग्मीले घटना निन्दनीय भएको बताउनुभयो । घटनामा संलग्न मोर्चाका कार्यकर्ता अहिलेसम्म पक्राउ परेका छैनन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच आक्रमणको बिरोध गर्दै एमालेले भोली सिजुवाको आम्बारी चोकमा बिरोध प्रदर्शन गर्ने भएको छ । आक्रमणकारीलाई कारबाहीको माग गर्दै एमाले क्षेत्रीय कमिटीको आयोजनामा बिरोध प्रदर्शन गर्ने क्षेत्रिय सचिव चापागाईले जानकारी दिनुभयो ।













प्रतिक्रिया