काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपाल संवत् ११३६ आरम्भ भएको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।
उहाँले नेपालीहरूको मौलिक संवतको रुपमा रहेको नेपाल संवतको नयाँ वर्षको अवसरमा यसका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानको समेत स्मरण गर्न चाहेको बताउनुभएको छ । शंखधर साख्वाःको योगदानको राष्ट्रिय महत्वलाई मनन् गरी कांग्रेसको सरकारले २०५६ सालमा उहाँलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको कोइरालाले स्मरण गर्नुभएको छ ।
‘हामीबाट विदा हुँदै गरेको नेपाल संवत् ११३५मा नेपालमा ऐतिहासिक संवैधानिक र राजनीतिक उपलब्धि हासिल भएका छन्’, उहाँले भन्नुभएको छ, ‘संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने कार्य सम्पन्न भएको छ । राजनीतिक दलहरू बीचमा आपसी सम्वाद, सहमति, सहकार्य, एकता र मेलमिलापको भावना कायम राख्दै यसलाई समस्त नेपालीको उन्नति र प्रगतिको साथै देशमा शान्ति, स्थिरता, विकास र समृद्धिको आधार बनाउनका लागि समयानुकूल संशोधन गरी परिष्कृत गर्नुपर्दछ ।’
निवर्तमान सरकारले संविधान संशोधनको विधेयक संसदमा प्रस्तुत गरी यस कार्यको आरम्भ पनि गरिसकेको सभापति कोइरालाले उल्लेख गर्नुभएको छ ।
‘त्यसलाई परिणाममुखी बनाउन म व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने समस्त राजनीतिक दलहरुलाई सादर अनुरोध गर्दछु’, उहाँले भन्नुभएको छ ।












प्रतिक्रिया