२२ कार्तिक २०८३, आइतबार

राप्रपा अध्यक्ष राणाले भने- कैलाली टुक्रयाएर भएपनि मधेसीको माग पुरा गरौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasupati-Rana

काठमाडौ, २५ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले पश्चिमको कैलाली र पूर्वका केही जिल्ला टुक्राएर मधेस प्रदेशमा राखेर भए पनि सीमांकन मिलाउन प्रमुख दलहरु तयार हुनुपर्ने बताएका छन ।

रिपोर्टर्स क्लब नेपालको देउसी भैलो टोलीसँगको कुराकानीमा उनले भने,‘ हाम्रो पार्टीले घोषणा पत्रमै मधेसमा दुई प्रदेश हुनु पर्छ भनेकोले अहिले विवादित जिल्ला टुक्राएर भएपनि सीमांकनमा रहेको विवाद मिलाउनु पर्छ ।’

राणाले मधेसको समस्या संबोधन गर्न ढिला गर्न नहुने भन्दै यो नेपाल र भारत दुबैको असफलता भएको दावी गरे । उनले भारतसँगको असमझदारी हटाउन हाम्रो कुटनीति सभ्य र संबेदनशिल हुनु पर्ने भन्दै छिमेकी फेर्न नसकिने भएकोले परिपक्व र संबेदनशिल भएर अघि बढ्न सुझाव दिए ।

राणाले भने,‘ हिन्दुस्तानले अनावश्यक रुपमा नेपालमा ब्लकेड गर्यो । यो कदापी पनि उचित छैन । तीन तिरबाट भारतले घेरेको भुपरिबेष्ठित रुपमा अन्ध राष्ट्रबाद चल्दैन । सभ्य कुटनीति गर्नुपर्छ । ’ उनले सरकार गठन हुने वित्तिकै हतारमा परराष्ट्रमन्त्रीलाई नयाँ दिल्ली पठाउनु परिपक्व कदम नभएको भन्दै सरकारलाई परिपक्व कुटनीति अपनाउन आग्रह गरे ।

राणाले पुनर्निर्माण अघि नबढ्दा भूकम्प पीडितहरुको अवस्था कठिन बन्दै गईरहेको भन्दै तत्काल पुर्ननिर्माण विद्येयकलाई अगाडि बढाउन सरकारलाई सुझाव दिए । उनले पार्टी एकीकरणको लागि आफूले पहल गरिरहेको भन्दै त्यसक्रममा आफूले लोकेन्द्र बहादुर चन्दसँग तीन पटक भेटेर कुराकानी गरिसकेको बताए ।