काठमाडौं, २५ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नाकाबन्दीको नाममा वर्तमान सरकारले कालोबजारी गरेर जनतालाई दुःख दिएको आरोप लगाउनुभएको छ ।
तिहार, छठ र नेपाल संवतका अवसरमा शुभकामना सन्देश दिँदै फोरम अध्यक्ष यादवले जनतालाई दैनिक उपभोग्य सामग्री, औषधिलगायतको सहज आपूर्ति गर्न नसकेको बताउनुभयो ।
उहाँले भयो, ‘ग्याँस, पेट्रोलियम पदार्थ, औषधि, मलखाद र खाद्यान्न अभाव, महँगी र कालोबजारीले जनताको दैनिक जीवन अत्यन्त कष्टकर बनिरहेको समस्याहरूप्रति यो सरकार असंवेदनशील र गैरजिम्मेवार देखिएकोमा हामी दुख प्रकट गर्दछौं ।’
नेपाल–भारत सीमानाकामा अबरोध गरेर नाकाबन्दी लगाई मुलुकमा अस्तव्यस्थ बनाइ रहनुभएका अध्यक्ष यादवले आपूर्ति व्यवस्था नहुनुको आरोप केपी ओली नेतृत्वको सरकारलाई लगाउनुभएको हो ।
आन्दोलनरत मधेसी मोर्चा र सरकारी वार्ता टोलीवीचको वार्ताको सन्दर्भमा नेपाल सरकार जिम्मेवार र गम्भीरढंगले प्रस्तुत हुनुभन्दा वार्ता भड्काउने गरी शान्तिपूर्ण तथा अहिंसात्मक आन्दोलनमाथि निर्मम दमनमा उत्रिएको अध्यक्ष यादवले आरोप लगाउनुभएको छ ।
‘वार्ताको क्रममा राजनीतिक मुद्दाका विषय, त्यसमा खासगरी सिमाङ्कनको विषयमा गम्भीर गृहकार्य गरी पुनः वार्तामा बस्ने दुवै पक्षवीच भएको सहमति खल्बलिएको छ’, उहाँले भन्नुभएको छ, ‘वार्तालाई परिणाममुखी बनाउन र आन्दोलनको मागहरूलाई सम्बोधन गर्न गराउन चालू व्यवस्थापिका संसदको बैठकहरू अवरुद्ध छन् । सबै समस्याहरूको निकास दिन सरकार गम्भीर बनोस् ।’












प्रतिक्रिया