चितवन, २४ कात्तिक । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सरकारलाई मधेसका मागप्रति उदार हुन र मधेसवादी दललाई संसद् र सीमा अवरोध नगरी संविधान संशोधनका प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार उदारताका साथ अघि बढ्नासाथ मधेसको आन्दोलन टुङ्गिने बताउनुभयो । सरकारको वार्ता टोलीमा नबसे पनि नेपाली काँग्रेसले सहजकर्ताका रूपमा रहेर भूमिका निर्वाह गर्ने उहाँले भन्नुभयो ।
आज काठमाडौँ फर्किएलगत्तै मधेसवादी दलसँग आफूले छलफल अगाडि बढाउने भन्दै उहाँले नाका अवरुद्ध गर्दा आमनेपाली र यहाँको अर्थतन्त्र प्रभावित भएकाले यो कार्य रोक्न आग्रह गरिने बताउनुभयो ।
मधेसको माग सम्बोधन गर्न आफूहरू लागिपरेको भन्दै सीमा अवरोध गरेर समस्याको समाधान नहुने उहाँले दोहो¥याउनुभयो । प्रस्तावसमेत संसद्मा दर्ता गराइसकेको भन्दै उहाँले भन्नुभयो- “तपार्इंहरूको माग संविधानले दिएको छ, प्रष्ट पार्न हामीले संशोधन प्रस्ताव दर्ता गराइसकेका छौँ ।”
एक मधेस एक प्रदेश र जातीय राज्य नस्वीकार्ने भन्दै उहाँले अन्य मधेसका मागको पक्षमा काँग्रेस पनि रहेको स्पष्ट पार्नुभयो । नेपाली काँग्रेसले व्यापार पारवहनलाई आन्तरिक राजनीतिसँग जोड्न नहुने बताउँदै आएको भन्दै उहाँले हाम्रो पारवहन सुविधा पाउनुपर्छ, कहीँ पनि कसैले रोक्न पाउँदैन भन्नुभयो ।
नाकाबन्दीका कारण उद्योग, व्यापार, कलकारखाना, निर्माणसमेत ठप्प रहेको भन्दै यसको पार्टीले समेत गम्भीर ध्यानाकर्षण गराइसकेको उहाँले बताउनुभयो । आन्तरिक कारणलाई देखाएर भारतले पारवहन अधिकार उल्लङ्घन गर्न नपाउने पौडेलको भनाइ छ । हाम्रो आन्तरिक कुरा हामी मिलाउँछौँ भन्दै उहाँले त्यसैलाई देखाएर भारतले आपूर्ति असहज बनाउन नहुने बताउनुभयो ।
अर्काे एक प्रसङ्गमा नेपाली काँग्रेसको महाधिवेशन अब भने नसर्ने पौडेलले बताउनुभयो । पत्रकारहरूले अबको काँग्रेस सभापतिको उम्मेदवार तपाईं हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो – “सबै साथीहरूले उठ्नुपर्छ भनिरहेका छन् । सबैसँग छलफल गरेर औपचारिक घोषणा गर्छु ।”
त्यस्तै कार्यबाहक सभापति पौडेलले पूर्ववर्ती सरकारले गरेका निर्णय वर्तमान सरकारले उल्टाउँदै गए सहयोग गर्न नसकिने बताउनुभयो । रासस












प्रतिक्रिया