२२ कार्तिक २०८३, आइतबार

मोदीद्वारा तराईमा तीन प्रदेशको माग, आन्दोलनमा सत्तारुढ दलहरू कै समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tharuकाठमाडौं, २३ कात्तिक । चाडपर्वकोलागिभन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेको थरुहट/थारुवान संयुक्त संघर्ष समितिले अनिश्चितकालीन आमहडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

समितिले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी मंसिर ५ गतेबाट पूर्व मेचीदेखि महाकालीसम्म राजमार्ग ठप्प पारेर अनिश्चितकालीन आमहडतालको घोषणा गरेको हो । आन्दोलन घोषणा गर्नेमा सत्तारुढ दलका सांसद र नेताहरू छन् ।

आमहड्ताल घोषणा गरेर सरकारलाई असहयोग गर्नेमा एकीकृत माओवादीका सांसद अमनलाला मोदी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीलगायतका छन् । आन्दोलनमा प्रमुख विपक्षी दल नेपाली काग्रेसका नेता तेजुलाल चौधरीको पनि समर्थन रहेको छ ।

सरकार मै रहेका दलका थारु सांसद र नेताहरूले आमहड्तालको घोषणा गरेपछि विरोध हुन थालेको छ । आमहड्ताल घोषणको पत्रकार सम्मेलनमा एमालेका थारु सांसद र नेताहरूको भने सहभागिता थिएन ।

समितिद्वारा घोषित अन्य आन्दोलनका कार्यक्रमहरूमा मंसिर ४ गते साँझ मसाल जुलुस गर्ने, मंसिर ७ र ११ गते थारु पहिचान र अधिकार विरोधी संविधानका धाराहरू चलाउने, व्यवस्थापिका संसदमा संघर्षलाई जारी राख्ने, केन्द्रीय टोलीसहित मोचीकाली जागरण र विरोधसभा चलाउने, केन्द्रका नेताहरूको सहभागितामा जिल्ला र क्षेत्रमा विरोधसभा आयोजना गर्ने र मुद्दा मिल्ने पक्षसँग कार्यगत एकता गरेर आन्दोलनलाई अझै शसक्त पार्नेलगायतका रहेकाछन् ।

पत्रकार सम्मेलनमा समितिका प्रवक्ता एवम् एकीकृत माओवादीका सांसद अमनलाल मोदीले आफूहरूको मुद्दा विशुद्ध थारुको भएकाले यसलाई मधेसीको एजेण्डासँग जोडेर कुण्ठित पार्न नहुने बताउनुभयो ।

उहाँले आफूहरूको आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहनेभन्दै अधिकार स्थापित गरेर मात्रै आन्दोलन समापन हुने बताउनुभयो ।

मोदीले आफूहरू समग्र मधेसमा तीन प्रदेशको पक्षमा रहेको भन्दै नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा, सुनसरी, मोरङ्ग, झापा, सिराहा, सप्तरी र उदयपुरको एक र बाँकी तराईमा अर्को प्रदेश गरी तीन प्रदेश हुनुपर्ने बताउनुभयो ।

राज्यले आफूको जायज माग नसुने मुद्दा मिल्ने पक्षहरूसँग सहकार्य गर्दै आन्दोलनलाई अझै कडा पार्ने चेतावनी दिनुभयो ।

समितिका अध्यक्ष धनीराम चौधरीले मधेसी मोर्चाको दुई प्रदेशको मागमा पनि आफूहरूको विमति नरहेको भन्दै आफू उत्तर दक्षिण जोडिनु हुँदैन भन्ने पक्षमा नरहेको बताउनुभयो ।

उहाँले आफूहरूले आन्दोलन गरेको तीन महिना पूरा हुँदा समेत आफूहरूको मागमा राज्य गम्भीर नभएकोले जनतालाई दुःख हुने भएपनि आन्दोलन गर्न बाध्य भएको दावी गर्नुभयो ।

फोरम लोकतान्त्रिका प्रमुख सचेतक योगेन्द्र चौधरीले सरकारलाई थारु समुदायका मागमा दबाव दिनका लागि आन्दोलनको घोषणा गरिएको बताउनुभयो ।

‘हामीले सरकारलाई असहयोग गर्न आन्दोलन घोषणा गरेको होइन’, उहाँले भन्नुभयो, ‘थारुका मागलाई पूरा गराउन दबाव दिने उद्देश्यले आमहड्ताललगायतका कार्यक्रम घोषणा गरेका हौँ ।’