काठमाडौँ, २३ कात्तिक । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असजहज अवस्थालाई अन्त्य गर्न सरकारलाई निर्देशन दिएको छ ।
आपूर्ति सहज गर्न भारतसँग देखिएको असहज अवस्थालाई अन्त्यका लागि कूटनीतिक पहल गर्न पनि समितिले सरकारलाई भनेको छ ।
समितिका सभापति प्रभु साहको अध्यक्षतामा आज बसेको बैठकले सरकारलाई तराई–मधेसमा गत भदौ १ गतेदेखिको निरन्तर आन्दोलनलाई वार्ता र संवादका माध्यमबाट हल खोज्न पनि निर्देशित गरेको छ ।
सरकार र आन्दोलनकारीबीचको वार्तालाई सार्थक र परिणामममुखी बनाउन सरकार बढी जिम्मेवार हुनुपर्ने भन्दै समितिले दैनिक आपूर्तिको अवस्था असहज हुँदै जाँदा जनतामा निराशा बढेको ठहरसमेत गरेको छ ।
बैठकमा बोल्ने अधिकांश सांसदले नेपाल–भारतबीचको समस्यालाई कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गर्दै मानवीय सङ्कट गहिरिँदै गएका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन सुझाव दिनुभएको थियो ।
औषधि, खाद्यान्नजस्तो अत्यावश्यक सामग्री पनि भारतले नेपाल आउन अवरोध गरेको भन्दै सांसदले भूपरिवेष्टित देशले पाउने पारवहन अधिकारलाई उपयोग गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।
साथै, चीनसँगको नाकालाई सञ्चालन गर्न र थप नाकाहरु खोल्नका लागि पहल गर्न पनि सांसदहरुले सरकारलाई सुझाव दिनुभएको थियो ।
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारतसँग देखिएको असहज अवस्थालाई समाधान गर्न सरकारले कूटनीतिक पहल गरिराखेको जानकारी दिनुभयो ।
उहाँले तराई–मधेसको आन्दोलन एवम् नयाँ संविधानप्रति देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले वार्तालाई अगाडि बढाइराखेको र वार्ता सकारात्मक रहेको बताउनुभयो ।
सो अवसरमा वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले बङ्गलादेशबाट पेट्रोलियम पदार्थ आयातका लागि कुराकानी भइराखेको समितिको बैठकमा जानकारी दिनुभएको थियो । उहाँले दैनिक आपूर्तिका वस्तुलाई सहज बनाउन मन्त्रालयले कार्ययोजना नै बनाई काम गरिराखेको जानकारी दिनुभयो ।
सो अवसरमा समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतले यतिसम्मको नाकाबन्दी गर्छ भनेर आफूले कहिल्यै नसोचेको भन्दै नेपालको आन्तरिक मामिलामा भारतले ‘यसो गर उसो गर’ भन्ने अधिकार नराख्ने धारणा राख्नुभयो ।
समितिका अर्का सदस्य एवम् नेपाली काँग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालाले भारतसँग देखिएको असहज अवस्थालाई वार्ताको माध्यमबाट समाधान खोजिनुपर्छ भन्नुभयो । बैठकमा सांसदहरु श्याम श्रेष्ठ, लालबाबु यादव, प्रेम सुवाल, राधा तिमल्सिनाले भारतले घोषित रुपमा नाकाबन्दी नै गरेको बताउनुभयो ।
बैठकमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थलाई सहज बनाउन प्रयास भइराखेको जानकारी दिनुभयो । रासस















प्रतिक्रिया