काठमाडौं, २३ कात्तिक । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता अन्यौलमा परेको छ ।
सिंहदरबारमा हुने भनिएको वार्ता अनौपचारिक मात्रै हुने भनिएपछि मधेसी मोर्चाले आक्रोश जनाएको हो ।
मधेसी मोर्चाका वार्ता टोली सदस्य तथा सद्भावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरू औपचारिक वार्ता गरेर छिटो समस्या समाधानका पक्षमा रहेको बताउनुभयो ।
‘हामी अनौपचारिक होइन औपचारिक वार्ताको पक्षमा छौँ’, उहाँले भन्नुभयो, ‘वार्ता टोलीले सबै कुरा मलिाएपछि शीर्ष तहमा बसेर ठोस सहमति गर्नुपर्छ ।’
सरकारी वार्ता टोलीका संयोजक एवम् परराष्ट्रमन्त्री कमल थापाले आजका लागि मधेसी मोर्चासँग अनौपचारिक रुपमा वार्ता गर्न प्रस्ताव राख्नु भएको थियो ।
तर मधेसी मोर्चाले अनौपचारिक वार्ताका विषयमा आन्तरिक छलफल गरेर मात्रै जानकारी दिने जनाएको छ ।
नेता कर्णले भन्नुभयो, ‘अनौपचारिक वार्ताका विषयमा मैले मात्रै भन्न सक्दिँन । मोर्चाभित्र छलफल गरेर आजको वार्ता के गर्ने भन्ने जानकारी पछि मात्रै गराउन सक्छु ।’
सरकारी पक्षले मधेसका मागका सम्बन्धमा हेलचेक्राइ गरेको मधेसी मोर्चाको ठहर छ ।












प्रतिक्रिया