३१ आश्विन २०८३, शनिबार

नेपालसँगको वहसमा ओली गएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-KP-Oli

काठमाडौं, १६ असार । एमालेमा गुटगत भेलाहरु बढिरहँदा अध्यक्षका आकाँक्षी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीलाई एउटै मञ्चमा राख्ने सोमबारको प्रयास सफल हुन सकेन् ।

गुटगत भेला र आरोप प्रत्यारोपको क्रम बढेपछि एमाले महाधिवेशनको प्रचारप्रसार उपसमितिले अध्यक्षका आकांक्षी नेपाल र ओलीसँगै सबै शीर्ष नेताहरुलाई एउटै मञ्चमा राख्न खोजेको थियो । तर, संसदीय दलको बैठकमा व्यस्त भएको भन्दै नेता ओली सहभागी भएनन् ।

आसन्न महाधिवेशनको सन्दर्भमा अध्यक्ष झलनाथ खनालसहित तीन शीर्ष नेतालाई आमनेसामने राखेर पार्टी निर्माणको विषयमा उनीहरूका धारणा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएपनि संसदीय दलको बैठकका कारण नेता ओली उपस्थित हुन नसकेको एमाले प्रचार विभागका सचिव सूर्य थापाले जानकारी दिनुभयो । थापाका अनुसार, आगामी महाधिवेशनमा सर्वसम्मतिको प्रयास स्वरूप संयुक्त कार्यक्रम आयोजना गरिएको हो ।

पार्टी मुख्यालय बल्खुमा दिउँसो १ बजेका लागि तय भएको कार्यक्रम ओलीलाई पर्खँदा ४५ मिनेट ढिला सुरु भएको थियो ।

ओली नआउने भएपछि अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल, एमाले उपाध्यक्ष एवं कार्यवाहक प्रधानमन्त्री वामदेव गौतम र महासचिव इश्वर पोखरेल लगायतले समारोहलाई सम्बोधन गरेका थिए ।