काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री तथा चार मन्त्री नियुक्त गर्नुभएको हो ।
नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनुभएको छ ।
एमाले उपाध्यक्ष भीम रावल, नेकपा मालेका अध्यक्ष सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्री पदको सपथ लिनुभएको छ ।
यस्तै मन्त्रीहरुमा एमालेबाट विष्णु पौडेल अर्थमन्त्री, शेरधन राई सञ्चारमन्त्री, आनन्द पोखरेल पर्यटनमन्त्री र शान्ता मानवीले श्रममन्त्री पदमा राष्ट्रपति भण्डारीबाट सपथ लिनुभयो । यो सँगै प्रधानमन्त्री ओलीको मन्त्रिमण्डल ६ उपप्रधानमन्त्री र १७ मन्त्री दुई राज्यमन्त्रीसहित २८ सदस्यीय बनेको छ ।
त्यसैगरी सत्य नारायण मण्डललाई युवा तथा खेलकुद, रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसङ्ख्या, विश्वेन्द्र पासवानलाई विज्ञान तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मण्डल, चौधरी र पासवान यसअघि नै मन्त्रीमा नियुक्त हुनु भए पनि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिना विभागीय ती मन्त्रीहरुको जिम्मेवारी समेत तोक्नुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसदहरुको उपस्थिति रहेको थियो ।
नेकपा (एमाले)को आज बसेको शीर्ष नेताको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको हो । उपप्रधानमन्त्री हुनुभएका रावल एमालेका उपाध्यक्ष हुनुहुन्छ । यस्तै मैनाली नेकपा (माले)का महासचिव र केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष हुनुहुन्छ । केसी पहिलो पटक मन्त्री हुनुभएको हो ।
नामावलीः
चित्रबहादुर केसी–उपप्रधान तथा रक्षा मन्त्रालय ।
सीपी मैनाली– उपप्रधान तथा महिला बालबालिका मन्त्रालय ।
भीम रावल– उपप्रधान तथा सहरी विकास मन्त्रालय ।
विष्णु पौडेल– अर्थमन्त्री ।
शेरधन राई– सञ्चारमन्त्री ।
आनन्द पोखरेल– पर्यटनमन्त्री ।
शान्ता मानवी– श्रममन्त्री ।













प्रतिक्रिया