२२ कार्तिक २०८३, आइतबार

हिमालका लागि मधेस र मधेसका लागि हिमाल जरुरी : महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwor-pokheralविराटनगर, १९ कात्तिक । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज विराटनगरमा प्रेस चौतारीका केन्द्रीय सदस्य विक्रम लुइँटेललाई जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभयो ।

प्रेस चौतारी नेपाल, मोरङ र मैनाली परिवारद्वारा संयुक्त रुपमा प्रदान गरिएको सम्मानपत्रसहित सो पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ । यसअघि यो पुरस्कारबाट ६ जना पत्रकार सम्मानित भइसकेका छन् ।

सो अवसरमा महासचिव पोखरेलले राष्ट्रिय स्वाभिमान र संविधानको पक्षमा उभिनेहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने आजको राष्ट्रिय आवश्यकता रहेको बताउनुभएको छ ।

उहाँले सङ्क्रमणकालको अवस्थामा मुलुकलाई कमजोर बनाउन खोजिएको र अवाञ्छित ढङ्गले अन्योल खडा गरी भ्रम सृजना गरिएकाले यस्तो समयमा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभयो ।

लोकतान्त्रिक विधिबाट संयमित र सन्तुलित ढङ्गले संविधान निर्माण भएको भन्दै उहाँले भन्नुभयो, “संविधानसभाका ९१ प्रतिशतको सहभागितामा ८७ प्रतिशत सभासद्ले संविधानको पक्षमा समर्थन जनाएका छन् ।”

संसारका मुलुकको तुलनामा नेपालमा नागरिकता वितरणको प्रावधान सबैभन्दा बढी उदार रहेको छ । उहाँले भन्नुभयो, “अङ्गीकृत नागरिकले संवैधानिक प्रमुखबाहेक अन्य प्रकारका सम्पूर्ण व्यवस्था पाउने र वैवाहिक अङ्गीकृत नागरिकता पनि सामान्य प्रक्रिया पूरा गरी प्राप्त गर्ने व्यवस्था रहेको छ ।”

राज्य सञ्चालनको हरेक अङ्गमा समानुपातिक, समावेशी, राज्यको प्रमुख दुई भाषालाई कामकाजी भाषाका रुपमा उल्लेख गरिएको भन्दै उहाँले जनसङ्ख्याकै आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनेछ तर भूगोललाई छोड्न नसकिने स्पष्ट पार्नुभयो ।

सीमाङ्कनको सम्बन्धमा सङ्घीय आयोगका विज्ञले दिएका सुझावलाई मान्नुपर्ने उल्लेख गर्दै महासचिव पोखरेलले हिमालका लागि मधेस र मधेसका लागि हिमाल जरुरी रहेको प्रस्ट पार्नुभयो । संविधान गतिशील दस्ताबेज भएकाले नमिलेका कुरालाई आगामी दिनमा संशोधन गरेर अगाडि बढ्नसक्ने भएकाले मुलुकलाई असहज परिस्थितिमा पार्नु राम्रो कुरा नरहेको धारणा व्यक्त गर्नुभयो ।

जारी संविधानको विषयमा मधेसमा भ्रम सृजना गरी सर्वसधारणलाई भ्रममा पारिएको उल्लेख गर्दै उहाँले संविधानमा गरिएको व्यवस्था सम्बन्धमा सर्वसाधारणलाई सुसूचित गराउन प्रचार–प्रसार गरिदिन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । छिमेकीसँग वैरभाव राख्नु जरुरी नरहेको तर छिमेकी अमैत्री ढङ्गले प्रस्तुत हुनु दुःखद कुरा हो भन्नुभयो ।

मुलुकको राजनीतिक र कूटनीतिक अधिकार खोसिनु हुँदैन भन्दै उहाँले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रमा कुरा उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ पत्रकार यज्ञ शर्मा, पत्रकारहरु गणेश लम्साल, माधव अधिकारी, लीलाराज भट्टराई र शशाङ्क पौडेलले आ–आफ्ना धारणा प्रकट गर्नुभयो । रासस