काठमाडौं, १९ कात्तिक । एकीकृत माओवादी छाडेर पूर्व प्रधानमन्त्री बाबुराम भट्टाराईको नयाँ शक्ति निर्माणको अभियानमा लागेका नेताहरूलाई जिम्मेवारी बाँडफाँट सरु भएको छ ।
जिम्मेवारीअनुसार नेता देवेन्द्र पौडेललाई भट्टराईको नयाँशक्ति निर्माणमा संयोजकको जिम्मेवारी तोकिएको छ ।
राजधानीमा बुधबार भएको गोप्य भेलाले पौडेललाई संयोजक बनाएको हो । पौडेलले एमाओवादी छाडेर आएका नेता तथा कार्यकर्तालाई सांगठनिक रुपमा संयोजन गर्नु हुनेछ ।
त्यसै गरी मधेसी, जनजाति र थारु नेता तथा कार्यकर्ता ल्याउनका लागि गोप्य रुपमा शीर्ष नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।
एमाओवादीबाट अरु नेता र सांसदहरूलाई ल्याउनका लागि पहल गर्ने जनाइएको छ ।
दैनिक नेपाल डट कमसँग कुरा गर्दै संयोजक पौडेलले आफूले नयाँशक्ति निर्माणका क्रममा सांगठनिक रुपको संयोजन गर्ने जिम्मेवारी पाएको बताउनु भयो ।
‘एमाओवादी छाडेर आउनु भएका साथीहरूलाई सांगठनिक रुपमा संयोजन गर्ने जिम्मेवारी पाएको छु’, उहाँले भन्नुभयो, ‘नयाँशक्ति बृहत रुपमा बनाउनका लागि छलफल चलिरहेकाले अभियानले आकार पाइसकेको छैन ।’
नेता भट्टराईको नयाँशक्ति छलफल र आकार निर्माणको क्रममा रहेकाले अझै राजनीतिक दलको रुप लिन एक/दुई महिना लाग्ने संयोजक भट्टराईले बताउनुभयो ।
तपाईहरूको नयाँ बन्ने राजनीतिक दलको नाम के राख्नु हुन्छ भन्ने जिज्ञासामा संयोजक पौडेलले भन्नुभयो, ‘छलफलमा छौँ । सबैको यसमा सहभागिता हुने भएकाले यही भन्ने छैन । विचार गरिरहेका छौँ ।’
अब पुरानो तरिकाले राजनीतिक दलहरू चल्न नसक्ने भएको बताउनु भएका संयोजक पौडेलले भन्नुभयो, ‘समाजवादी अभियान र क्रान्तिमा हामी जाने हो ।’
उहाँले छलफल गर्दै जाँदा आफूहरूको नयाँशक्तिमा कम्युनिजम विचार धारा नहुने संकेत गर्नु भयो ।
‘एमाओवादीको महाधिवेशनले समाजवादी अभियान र त्यसकै आधारमा क्रान्ति गर्ने कार्य नीति पारित भएको थियो’, उहाँले भन्नुभयो, ‘त्यही नीतिलाई आधार बनाएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा हामी छौँ ।’
उहाँले कसैको विरोध वा समर्थनमा नयाँशक्ति बनाउन नलागिएको उल्लेख गर्नु भयो । एमाओवादीले गरेको कारबाहीलाई उहाँले बेतुकको संज्ञा दिनु भएको छ ।












प्रतिक्रिया