
काठमाडौं, १७ कात्तिक । सरकारले अपराधलाई प्रोत्साहन हुने गरी कानुन संशोधन गरेको छ ।
४० प्रतिशत कैद भुक्तान गरेपछि जेलबाट छाड्न मिल्ने गरी कानुन संशोधन गरिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
कारागार व्यवस्था नियमावली २०२० संशोधन गरी ४० प्रतिशत कैद भुक्तान गरेका व्यक्तिलाई बाँकी कैद माफी मिनाहा दिन सकिने प्रावधान राखिएको छ ।
संशोधन गरिएको नियमावलीअनुसार नै दसैँको अवसरमा ६ सय १० जना कैदी छुटेका छन् ।
२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेको भोलिपल्टै कैदीहरूलाई छुटाइएको थियो ।
धेरै कैदी छुटाउनकै लागि नियमावली संशोधन गरिएको स्रोत बताउँछ ।
जेलमा समस्या भएको भन्दै यसरी धेरै कैदी छुटाइएको हो ।
सरकारले नियमावलीबाट कैदीहरूलाई फाइदा हुने गरी दुईवटा प्रावधान संशोधन गरेको छ ।
यसअघि ५० प्रतिशत कैद भुक्तान गरेका र ७० वर्ष उमेर पुगी असल चालचलन भएका कैदीको बाँकी कैद माफी दिन सकिने प्रावधान थियो ।
त्यसमा संशोधन गरी ४० प्रतिशत कैद भुक्तान गरी असल चालचलन भएकालाई बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान राखिएको छ ।
त्यस्तै, असल चालचलन भएको ६५ वर्ष उमेर पुगेको भए ४० प्रतिशत कैद पनि भुक्तान गर्नु नपर्ने गरी नियमावली संशोधन गरिएको छ ।
संशोधित नियमावलीअनुसार ६ सय १० जना कैदी फूलपातीको दिन छुटेको कारागार व्यवस्था विभागका महानिर्देशक हिमनाथ दवाडीले जानकारी दिए ।















प्रतिक्रिया