
काठमाडौँ, १६ कात्तिक । नेपाली काँग्रेसको आजको केन्द्रीय समिति बैठकमा तीन शीर्ष नेताहरुले संविधान निर्माणपछि काँग्रेसका भूमिकाका बारेमा आआफ्नो धारणा राखेका छन् ।
आइतबारदेखि सुरु भएको बैठकमा केही केन्द्रीय सदस्यले दलहरुबीचको सहमति तोडेर प्रधानमन्त्री, राष्ट्रपतिलगायत पदमा काँग्रेसले उम्मेदवारी दिएका सम्बन्धमा नेतृत्वको धारणा माग गरेका थिए । केन्द्रीय सदस्यहरुको जिज्ञासाको सम्बोधन गर्दै सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले काँग्रेसको उम्मेदवारीले राष्ट्रिय एकता बलियो भएको धारणा राखेको केन्द्रीय सदस्य महेन्द्र शर्माले बताउनुभयो ।
बिहान ८ बजेदेखि सुरु भएको बैठकमा दिनभर नै संविधान निर्माणपछिको राजनीतिक अवस्था र काँग्रेसको भूमिकाको सम्बन्धमा छलफल हुने बताइएको छ । संविधान निर्माणपछि र काँगेस प्रधानमन्त्री, राष्ट्रपतिलगायतमा उम्मेदवारी दिएपछि पहिलो पटक आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले नेतृत्वले उम्मेदवारी सम्बन्धमा गरेका निर्णयप्रति आलोचना गर्ने बताइएको छ ।
आइतबारको बैठकमा आसन्न १३औँ महाधिवेशनमा केन्द्रित रहेर छलफल हुनाका साथै महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गरिने प्रस्ताव गरिएको थियो । रासस












प्रतिक्रिया