काठमाडौं, १५ कात्तिक । नाकाबन्दी र आमहड्तालले सर्वसाधारण आजित भइरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो आन्दोलनमा सर्वसाधारण ल्याउन अर्को नयाँ योजना सार्वजनिक गरेको छ ।
जनकपुरमा शनिबार र आइतबार दुई दिनसम्म चलेको बैठकले आन्दोलनकारी जम्मा गर्नका लागि बैँकको ऋण हिनाहको कार्यक्रम ल्याएको हो ।
‘शान्तिपूर्ण र अहिंसात्मक असहयोग आन्दोलनका दौरान सम्पूर्ण ओद्योगिक तथा व्यवसायिक वर्ग, किसानलगायतकाले लिएको बैँकको ऋणको ब्याज र जरिवाना मिनहा गरिनु पर्दछ’, जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
यसअघि मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई पचास लाख रुपियाँ दिने निर्णय गरेको थियो ।
मोर्चाको रुपियाँ दिने निर्णयको चौतर्फी आलोचना समेत भएको थियो । पचास लाखको योजनालाई झल्को दिने गरी मधेसी मोर्चाको जनकपुर बैठकले बैँकको ऋणको ब्याज र जरिवाना मिनाहाको योजना ल्याएको हो ।
त्यसैगरी मधेसी मोर्चाले आफ्ना अधिकार, समानुपातिक समावेशिता, प्रादेशिक स्वायत्तता र पहिचान सहितको संघीयताका साथै मधेसी, थारु, आदिवासी–जनजाति, दलित मुश्लिम आदि समुदायप्रति राज्यद्वारा गरिँदै आएको विभेद, असमानता, र उत्पीडनलाई अन्त्य गर्न आन्दोलन शसक्त बनाउने निर्णय समेत गरेको छ ।












प्रतिक्रिया