काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले महिना दिन वितिसक्दा पनि पूर्णता पाउन सकेको छैन् ।
यसैक्रममा आइतबार राखिएको मन्त्रिमण्डल विस्तार कार्यक्रम स्थगित गरिएको छ । सत्तारुढ दल एमालेमा तयारी नपुगेको भन्दै थप छलफल परामर्शका लागि आइतबार हुने भनिएको मन्त्रिमण्डल विस्तार आज नहुने भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज मन्त्रिमण्डल विस्तार हुने कुनै कार्यक्रम नरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘हिजो मन्त्रिमण्डल विस्तार गर्ने विषयमा छलफल भएको थियो । तर, आज विस्तार भने हुनेछैन् । यसमा आज पनि छलफल तथा परामर्श जारी छ ।’
उहाँले पार्टीले मन्त्री छनोट गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएकोले शीर्ष नेताहरुसँग परामर्श गरेर छिटै विस्तार हुने धारणा राख्नुभयो । स्रोतका अनुसार एमालेमा मन्त्री छान्न विषयमा कुरा मिलिसकेको छैन् । मन्त्री छान्ने जिम्मेवारी पाएका प्रधानमन्त्री ओलीले छिट्टै मन्त्री छान्ने र सरकारलाई पूर्णता दिने दाहालको भनाई छ ।
यसअघि उपराष्ट्रपति निर्वाचनको परिणाम घोषणा भएलगत्तै शनिबार साँझ र आइतबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री छनोटबारे एमाले नेताहरुको बैठक बसेको थियो ।












प्रतिक्रिया