१२ मंसिर २०८३, शनिबार

नेपाली चिकित्सक डा. श्रेष्ठ स्विट्जरल्याण्डमा रेडियो–अन्कोलोजीको चिकित्सकीय प्रमुख नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चिकित्सक डा. विनयकुमार श्रेष्ठ स्विट्जरल्याण्डको थुनस्थित रेडियो–अन्कोलोजी बेर्नर ओबरल्यान्ड एजीको चिकित्सकीय प्रमुखमा नियुक्त भएका छन् । उनले गत १ नोभेम्बरदेखि संस्थाको चिकित्सकीय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

श्रेष्ठले संस्थामा १८ वर्षसम्म चिकित्सकीय नेतृत्व प्रदान गरी अवकाश लिँदै गरेका डा. पिटर एम मेसरको स्थान लिएका हुन् ।

यसअघि डा. श्रेष्ठ बर्नस्थित इनसेलस्पितालको विकिरण क्यान्सर उपचारसम्बन्धी विश्वविद्यालय क्लिनिकमा वरिष्ठ चिकित्सकका रूपमा कार्यरत थिए । सन् २०२० देखि उक्त जिम्मेवारी सम्हाल्दै आएका उनले यसअघि विन्टरथुरस्थित क्यान्टोनल अस्पताल र ज्युरिख विश्वविद्यालय अस्पतालमा समेत काम गरिसकेका छन् ।

नेपालमा चिकित्सा शिक्षा हासिल गरेका श्रेष्ठले स्विट्जरल्याण्डको बर्न विश्वविद्यालयबाट बायोमेडिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

उनले सन् २०१६ मा रेडियो–अन्कोलोजीमा स्विस विशेषज्ञ चिकित्सकको उपाधि प्राप्त गरेका थिए भने सन् २०२१ मा बर्न विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका थिए ।

रेडियो–अन्कोलोजी अर्थात् विकिरणको प्रयोगबाट क्यान्सर उपचार गर्ने क्षेत्रमा श्रेष्ठसँग लामो अनुभव छ । विकिरण उपचारका विभिन्न विधामा दक्षता, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य संस्थासँगको सहकार्य र विभिन्न अस्पतालमा काम गरेको अनुभवका आधारमा उनलाई उक्त जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।

सन् २००७ मा थुनस्थित अस्पतालमा स्थापना भएको रेडियो–अन्कोलोजी बेर्नर ओबरल्यान्ड एजीले बेर्नर ओबरल्यान्ड क्षेत्रका क्यान्सरका बिरामीलाई स्थानीयस्तरमै विकिरण उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

चिकित्सकीय सेवासँगै नेपाली समुदायमा पनि सक्रिय श्रेष्ठ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्याण्डका पूर्वअध्यक्ष तथा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वसदस्य हुन् ।

डा. श्रेष्ठ सन् २०२४ देखि युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’का अध्यक्ष समेत छन् ।

नेपालमा चिकित्सा शिक्षा हासिल गरी स्विट्जरल्याण्डमा विशेषज्ञता र व्यावसायिक अनुभव प्राप्त गरेका श्रेष्ठको यो नियुक्तिलाई नेपाली समुदायका लागि गौरवको विषयका रूपमा हेरिएको छ ।