२ मंसिर २०८३, बुधबार

स्थानीय निर्वाचन केन्द्रित एमालेको राष्ट्रिय भेला आजबाट, अध्यक्ष ओलीले उद्घाटन गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय भेला आज (बुधबार)बाट सुरु हुँदैछ ।

काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा हुन लागेको राष्ट्रिय भेलाको उद्घाटन बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय भेला आयोजना गरेको हो ।

बिहीबारसम्म जारी रहने राष्ट्रिय भेलामा पार्टी अध्यक्ष ओलीले राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामहरूको विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछिन् ।

यस्तै, उपाध्यक्ष रामबहादुर थापाले कम्युनिष्ट आन्दोलन र संसदीय संघर्षका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहितको प्रस्तुति उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् । साथै, पार्टी शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिव शंकर पोखरेलले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

मुलुकमा पछिल्लो अवस्थामा देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने भेलाको मुख्य उद्देश्य रहेको एमालेले जनाएको छ ।

राष्ट्रिय भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि समेत गरी ३ हजार ४ सय १४ जनाको सहभागिता रहने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

भेलाका लागि आन्तरिक सुरक्षा प्रबन्धलाई अत्यन्त सुव्यवस्थित बनाइएको र १०० जना स्वयंसेवकहरुले भेलास्थल र सहभागीहरुको सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने एमालेले जनाएको छ ।