काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी शेर्पा समुदायको परम्परागत पोशाक गलत तरिकाले लगाएको भन्दै विवादमा तानिएकी छन् ।
टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१)मा सहभागी भएकी मन्त्री चौधरीले शेर्पा समुदायको मौलिक पहिरन उल्टोपाल्टो, तलमाथि पारेर लगाएर सांस्कृतिक मर्यादाको अपमान गरेको भन्दै उनको आलोचना भएको हो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी बागमती प्रदेश अध्यक्ष छिरिङ डोल्मा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रीको पहिरनप्रति गम्भीर आपत्ति जनाइन् ।
उनले शेर्पा समुदायसँग परामर्श नगरी र पहिरनको सांस्कृतिक महत्त्व नबुझी लगाइएको पोशाकले शेर्पा समुदायको पहिचानमाथि अपमान गरेको टिप्पणी गरिन् ।
शेर्पाले मन्त्री चौधरीको उक्त कार्यलाई ‘हिमाली मुद्दा उठाएको नभई हिमाली जातिलाई जिस्क्याएको’ भन्दै आलोचना गरिन् । अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी १९० देशका प्रतिनिधिले उक्त तस्वीर हेरेपछि शेर्पा समुदायको संस्कृतिबारे कस्तो धारणा बनाउलान् भन्ने प्रश्न समेत उनले उठाएकी छन् ।
‘कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोप–३१ मा लगाउनुभएको यो हाम्रो हिमाली क्षेत्रको पहिरनलाई उल्टो पाल्टो तलमाथि पार्ने, खेलौना सम्झी लगाएकी छिन् । यो हाम्रो पहिरनको उल्टो, बिग्रिएको, बेइज्जत गरिएको रुप हो ।’ शेर्पाले भनेकी छन्, ‘यो हिमाली मुद्दा उठाएको होइन, हिमाली जातिलाई जिस्क्याएको हो । कोप-३१ मा १९० देशका मान्छेले मन्त्रीलाई भेटे र सबैले यो फोटो हेरेपछि उनीहरूले के सोचे होलान् ? शेर्पाहरूले यस्तै उल्टो लुगा लगाउँछन् ?’

सगरमाथा आरोहणमार्फत विश्वमा नेपालको पहिचान स्थापित गर्न र हिमाल संरक्षणमा शेर्पा समुदायले पुर्याएको योगदानको स्मरण गराउँदै उनले समुदायको पहिचानमाथि खेलबाड नगर्न आग्रह गरेकी छन् ।
हिमाली क्षेत्रका मुद्दा उठाउन शेर्पा समुदायको पोशाक लगाउनैपर्ने आवश्यकता नरहेको उल्लेख गर्दै उनले मन्त्रीकै हैसियतमा आफ्ना धारणा राख्न सकिने बताइन् । यदि परम्परागत पोशाक लगाउने हो भने त्यसको सांस्कृतिक महत्त्व बुझेर सही तरिकाले लगाउनुपर्ने उनको भनाइ छ ।
‘हामी शेर्पा, सगरमाथा चढेर संसारलाई नेपाल चिनाउने जाति हौँ । हामीले ज्यान दिएर हिमाल जोगाएका छौँ । अनि तपाईंले हाम्रो त्यही पहिरनलाई नबुझी, नसोधी, हाम्रो समुदायको एक जनालाई पनि नसोधी उल्टो लगाएर हिँड्नुभयो ? हिमालको मुद्दा उठाउन शेर्पा बन्नै पर्दैन थियो । मन्त्री भएर गए पुग्थ्यो । तर शेर्पा बन्ने भए, राम्रोसँग शेर्पा बन्नुस् ।’ शेर्पाले लेखेकी छन्, ‘हाम्रो संस्कृतिलाई सम्मान गर्नुस्। मन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ। जो कोहीले पनि शेर्पा समुदायसँग सल्लाह नलिई हाम्रो पहिरनलाई यसरी प्रयोग गर्न बन्द गर्नुपर्छ । कोपमा हिमालको कुरा गर्ने भए, हिमालका छोराछोरीलाई नै बोल्न दिनुस् । मेरो पहिरन मेरो प्राण हो । मेरो पहिरनलाई उल्टो लगाएर मेरो पुर्खालाई गाली गर्ने अधिकार कसैलाई छैन, मन्त्रीलाई पनि छैन । पहिरन मिलेन भन्ने कुरा सानो होइन । पहिरन भनेको पहिचान हो । पहिचान उल्टो भएपछि जाति नै उल्टो देखिन्छ । यो सम्पूर्ण हिमाली क्षेत्रको अपमान भएको छ ।’
मन्त्री चौधरीको सार्वजनिक तस्वीरमा उनले शेर्पा महिलाले कम्मरमा बाँध्ने परम्परागत धर्के एप्रोन (पाङदेन) उल्टो र छोटो पारेर लगाएको देखिन्छ । साथै, आङ्गी (बख्खु)माथि उनले आधुनिक कोट लगाएको देखिएको छ ।
चौधरीको शेर्पा पहिरनलाई लिएर शेर्पा समुदायका अगुवा तथा जानकारहरुले विभिन्न टीकाटिप्पणी गरिरहेका छन् ।











प्रतिक्रिया