२५ कार्तिक २०८३, बुधबार

दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गर्न आवश्यक तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनले जानकारी दिए । उनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिन्थ्यो । त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्थे । अहिले पनि भाइटीकाका दिन त्यहाँ भक्तजनको भीड लाग्ने गरेको छ ।

विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो । विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म दिदीबहिनी तथा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिरमा पुग्ने गरेका थिए । भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिएको हो ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कुल परम्पराअनुसार कसैले आज र कसैले अघिल्लो दिन किजापूजा गर्ने गर्छन् । भक्तपुरका अधिकांश नेवार समुदायले हिजो किजापूजा गरेका छन् । त्यहाँको तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार भक्तपुरका नेवार समुदायले हिजो नै किजापूजा गरेको जनाइएको छ । रासस