काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवम् नेकपाका सहसंयोजक माधवकुमार नेपाल भ्रष्टाचार मुद्दा लागेकै दिन दक्षिण कोरियातिर उडेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९७ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी त्यसपछि पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर दक्षिण कोरिया प्रस्थान गरेका हुन् ।
नेकपाकी नेतृ उमा भुजेललाई पार्टी प्रवेश गराउने कार्यक्रममा उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै सहभागी भएका थिए। उक्त कार्यक्रम सकेर उनी दक्षिण कोरिया प्रस्थान गरेका हुन् ।
अख्तियारले मोरङको साविक विराटनगर उपमहानगरपालिका–३ स्थित रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी निजी प्रयोजनमा लगाएको आरोपमा नेपालसहित ९७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १३ औं महासभामा सहभागी हुन नेपाल त्यसतर्फ गएको नेकपाले जनाएको छ । नोभेम्बर ४ देखि ७ सम्म दक्षिण कोरियाको राजधानी सोलमा महासभा हुँदैछ ।
३६ देशका करिब ९० राजनीतिक दलका ३०० प्रतिनिधि सहभागी हुने महासभामा नेकपा (एमाले)का तर्फबाट सचिव शेरधन राई नेतृत्वको टोली पनि सोल पुगिसकेको छ । राईसँगै एमालेका डा. गोपाल खनाल पनि प्रतिनिधिमण्डलमा छन् ।
आईक्याप एसियाली देशका राजनीतिक दलहरूबीच आपसी समझदारी, सहकार्य र लोकतन्त्रको सुदृढीकरणका लागि छलफल गर्ने अन्तर्राष्ट्रिय मञ्च हो । यसको स्थापना सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको थियो ।












प्रतिक्रिया