२८ आश्विन २०८३, बुधबार

मलेसिया खुला गर्न माग गर्दै म्यानपावर व्यवसायीले भने- ‘सिन्डिकेट मान्दैनौँ’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको रोजगारी नियमित रूपमा खुला गर्न सरकारसँग माग गर्दै सीमित म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली श्रमिक पठाउने व्यवस्था स्वीकार्य नहुने जनाएको छ।

संघका अध्यक्ष डिकबहादुर (कुमार) खत्रीले सोमबार पत्रकार सम्मेलन गर्दै मलेसिया नेपालीका लागि महत्वपूर्ण श्रम गन्तव्य भए पनि रोजगारी खुलाउने नाममा केही कम्पनीलाई मात्र श्रमिक पठाउने अधिकार दिन नहुने बताए।

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम ९एफडब्लूसीएमएस० अन्तर्गत नेपालका २५ म्यानपावरलाई मुख्य र २५० लाई सहायक संस्थाका रूपमा राख्ने प्रस्तावप्रति संघले आपत्ति जनाएको छ। यस्तो व्यवस्था लागू भए नेपालमा इजाजत लिएर सञ्चालनमा रहेका अन्य म्यानपावर कम्पनी प्रभावित हुने संघको भनाइ छ।

संघले सीमित संस्थालाई मात्र जिम्मेवारी दिँदा प्रतिस्पर्धा घट्ने, श्रमिकको लागत बढ्ने र अनौपचारिक रकम असुलीको जोखिम बढ्न सक्ने दाबी गरेको छ। साथै, विदेशी निजी प्रणालीले नेपालमा कानुनी रूपमा इजाजत प्राप्त कम्पनीमध्ये कसले काम गर्न पाउने भन्ने निर्धारण गर्न नहुने उसको तर्क छ।

संघले एफडब्लूसीएमएसमा हुने आर्थिक कारोबार, शुल्क तथा यसको कानुनी आधारसमेत छानबिन गर्न माग गरेको छ। यस्तै, मलेसियाको रोजगारीलाई कुनै प्रकारको एकाधिकारसँग नजोडी कूटनीतिक पहलमार्फत तत्काल नियमित गर्न सरकारसँग आग्रह गरेको छ।

अध्यक्ष खत्रीले अहिले सीमित कम्पनीलाई मात्र अवसर दिने अभ्यास स्थापित भए भविष्यमा अन्य श्रम गन्तव्यमा पनि यस्तै व्यवस्था दोहोरिन सक्ने भन्दै सरकारलाई सचेत गराएका छन्।